मौसममा सुधार, आन्तरिक उडान नियमित
काठमाडौं, पुस १५ गते । पश्चिमी न्यून चापिय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव आज पनि देशका केही स्थानमा देखिएको छ । यद्यपि बुधबारको तुलनामा आज मौसममा धेरै सुधार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर बिहीबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ ।
यसैगरी, काठमाडौंं उपत्यकामा दिउँसोदेखि घाम लाग्ने महाशाखाले जनाएको छ । अहिले उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्राी सेल्सियस छ ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आन्तरिक उडान भइरहेको जनाएको छ । बिहीबार मौसममा क्रमिक सुधार भइरहेकाले काठमाडौंबाट हुने आन्तरिक उडान नियमित भइरहेको कार्यालयका कर्मचारीले जानकारी दिनुभयो ।
बुधबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुनुपर्ने १३० वटा दुईतर्फी उडान स्थगीत भएको थियो । आन्तरिक उडान गर्दै आएका नाै वटा वायुसेवाले बुधबारका लागि २७२ वटा उडान गर्ने तालिका बुझाएका थिए । तर, प्रतिकूल मौसमका कारण वायुसेवाले बुधबार साँझ अबेरसम्म १४२ वटा मात्रै उडान गरे भने १३० वटा उडान रद्द गरेको थियो ।