राष्ट्रिय |

गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको भीडले सकसमा यात्रु

 

काठमाडौँ, पुस १८ गते । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लाग्दा साँघुरो सडकका कारण यात्रु घण्टौँ जाममा यात्रा गर्न बाध्य भएका छन् । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको भीडका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । यो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न विद्यालय एवं क्याम्पसका सवारी पनि नेपाल मेडिकल कलेज भन्दामाथि जान लामो लाममा बस्नुपरेको छ ।
 
सवारी जामका कारण क्याम्पस जान समस्या भएको टाइम्स कलेज डिल्लीबजारमा अध्ययनरत कक्षा १२ की विद्यार्थी स्वस्तिका गौतमले गुनासो गर्नुभयो । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने यो भीडबाट यात्रुलाई सहजरुपमा यात्रा गराउन नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण जङ्गलभित्र पर्ने सडक खोल्न गोकर्णेश्वर नगरपालिकाले माग गर्दै आएको छ । जङ्गलको पर्खालसँगैको यो सडक पर्खाल थोरै माथि सारेपछि प्रयोग गर्न सकिने अवस्था छ । पर्खाल ठाउँठाउँमा भत्किएकाले नयाँ बनाउँदा थोरै माथि सार्ने सहमति भए यात्रुले राहत पाउने अवस्था छ । यो सडक खोले गोकर्णेश्वर महादेव मन्दिरअघिबाट सवारी दक्षिण ढोका निस्कन सहज हुन्छ ।
 
छ वर्षदेखि सुरु भएको जोरपाटीबाट गोकर्ण हुँदै सुन्दरीजल जाने सडक बिस्तार पूरा नभएकाले पनि यात्रु सास्ती खेप्न बाध्य भएका हुन् । विसं २०७२ मै ठेक्का भएको सात किमी सडकमा हालसम्म तीन किमीमात्र कालोपत्र भएको छ । काममा ढिलाइ हुँदा हिउँदमा धुलो र वर्षाद्मा हिलाम्य सडकमा यात्रा गर्न यात्रु बाध्य छन् । निर्माण व्यवसायीले एक हप्ता काम गरे एक महिना रोकिने गरेको स्थानीयवासी श्यामकृष्ण सङ्गत बताउनुहुन्छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको पर्ती जग्गामा बनेका घरले सडकको मापदण्ड पालना नगर्दा साँघुरो बाटोमा सधैँ जाम हुने गरेको छ । यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्न नसकेको स्थानीयवासी एवं यात्रुको भनाइ छ । मन्दिर क्षेत्रको जग्गा मिचेर बनाइएको बस्तीलाई पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाले कागज दिएको जनाइएको छ ।
 
अव्यवस्थित बस्तीका कारण पनि गोकर्णेश्वर उत्तरगया क्षेत्र साँघुरो बन्दै गएको छ । पौषकृष्ण औँसीमा तीर्थस्थलमा गई श्राद्ध गरिन्छ । सक्नेले प्रत्येक वर्ष र नसक्नेले जीवनमा एकपटक तीर्थ, गया, विष्णुपादुकामा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । आज गोकर्णसँगै रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावती, त्रिवेणी, देवघाट, रिडी, बराहक्षेत्र, पशुपतिक्षेत्रलगायत तीर्थस्थलमा पनि श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भगवान् विष्णुको दाँहिने पाउको चिह्न रहेकाले पनि आजको दिन यहाँ श्राद्ध गर्दा पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । यो विश्वासका आधारमा देशका विभिन्न भागबाट पुसको चिसोको समेत बेवास्ता गर्दै हजारौँ भक्तजन गोकर्णेश्वर पितृतीर्थ धाममा आउने गरेका छन् । यस वर्ष कोरोनाको जोखिम कम भएकाले पनि धेरै भक्तजन आएको हुनसक्ने मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिनुभयो ।