राष्ट्रिय |

सिन्धुपाल्चोकका ग्रामीण प्रहरी चौकी अलपत्र


चित्र मिजार
सिन्धुपाल्चोक, पुस २१ गते । सिन्धुपाल्चोकका दुर्गम इलाका ग्रामीण भेगका प्रहरी चौकीको भवन आर्थिक अभावमा बन्न नसक्दा निर्माणाधीन अवस्थामै चलाइएका छन् । सरकारी बजेटबाहेकका स्थानीय श्रमदान र चन्दा संकलन गरेर ठड्याइने क्रममा रहेका प्रहरी बिट र चौकी आर्थिक सङ्कटकै कारण अलपत्र परेका हुन् । ०७२ भूकम्प र पराकम्पनले जिल्लाभर तीन नगर र नौ गाउँपालिकाभर २३ वटा प्रहरी चौकी ध्वस्त भएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार भूकम्प र पराकम्पले भत्काएका २० प्रहरी चौकी ठडिसकेका छन् , भने जग्गा अभावका कारणले तीन वटा बन्न सकेका छैनन् ।

स्थानीयकै पहलमा ठडिँदै लागेको बलेफी गाउँपालिका–७ स्थित प्रहरी चौकी लामोसाँघुको भवन आर्थिक सङ्कटकै कारणले अझै अधुरो अवस्थामा देखिन्छ । यहाँ चिसोले कठ्याङ्ग्रिदै सुरक्षाकर्मी निमार्णाधीन भवनमै जस्तापाता बेरबार पारेर सुरक्षामा तैनाथ भेटिन्छन् । मङ्गलबार त्यहीँ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक तुलसीप्रसाद पोखरेल अलपत्र भवनलाई टोलाएर हेर्दै हुनुहुन्थ्यो । भूकम्पपछि उक्त प्रहरी कार्यालयको भवन स्थानीयले चन्दा सङ्कलन गरेर पिल्लर उठाई ईंटाको पर्खाल र ढलान गरेका थिए । त्यसपछि काहीँकत्तैबाट केही सहयोग र बजेट नपाएपछि उक्त भवन निर्माण पूरा हुन सकेको छैन ।

झ्याल ढोका हालिएको छैन । बलेफी गापावडा नम्बर ६, ७ र ८, त्रिपुरासुन्दरी गापा–६, सुनकोशी गापा वडा नम्बर ६ र ७ मा गरी ४० हजार नागरिकको सुरक्षा अभिभारा लिएको प्रहरी चौकी अपूर्ण हुँदा सुरक्षाकर्मी दिक्क देखिएका छन् । ‘नौ जना प्रहरीले यही अलपत्र भवनमा रातदिन बिताउनुपर्दा खुबै कष्ट भइरहेको छ, ’उहाँले भन्नुभयो । २०३३ सालमा स्थापना भएको चौकी तत्कालीन समयमा एसियाकै ठूलो उद्योगमा पर्ने ओरियण्ड म्याग्नेसाइडको भवनमा राखिएको थियो । लामोसाँघुका स्थानीय समाजसेवी उमेश प्रधानले २०५८ सालदेखि ०६२ सालसम्म माओवादी द्वन्द्वका कारण विस्थापित प्रहरी चौकीलाई २०६३ सालमा सोही स्थानमा पुनःस्थापना गरिएको बताउनुभयो । तर २०७२ सालको भूकम्पले भवन ध्वस्त भएपछि प्रहरी चौकी लामोसाँघु ८० किलोमा स्थानान्तरण गरिएको प्रधानले जानकारी दिनुभयो ।

स्थानीय जनश्रमदान, चन्दा सङ्कलन गरेर निर्माण गरिएको भवनमा सरकारका कुनै पनि निकायले बजेट उपलब्ध गराई निर्माण कार्य सम्पन्न गर्न प्रधानले तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ । त्यसैगरी, असार १ को मेलम्ची बाढीले हेलम्बुस्थित प्रहरी चौकी बगाएपछि भाडामा बसेको छ, भोटेकोशी गापाको बोक्चेन र चौतारा साँगाचोकगढी नगरको बोक्चेनमा जग्गा अभावका कारण प्रहरी चौकी बन्न सकेको छैन । स्थानीयले चन्दा र श्रमदानमार्फत निर्माण गरेको प्रहरी चौकी लामोसाँघु अहिले अलपत्र अवस्थामा छ ।