हरेक १५ दिनमा प्रतिवेदन दिन निर्देशन
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनमा कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको छ । शुक्रबार विभागीय प्रमुखसँग बैठक गरेर उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
पौडेलले भन्नुभयो, “पहिलो हप्ता सक्ने काम के के हुन् टिपोट गर्नुहोस् । अर्को हप्ता नतिजा निस्कने गरी काम हुनुप-यो, होइन भने कारण चाहियो ।” मन्त्रालयमा लामो समयदेखि अड्किएका फाइलहरूको अध्ययन गरी टुङ्ग्याउन सक्ने काम तत्काल गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
“फाइलहरू अड्काएर हुँदैन । सेवाग्राहीको पनि आशा हुन्छ । हप्ता दिन अध्ययन गरेर काम हुने नहुने निर्णय दिनुहोस्” पौडेलले भन्नुभयो । उहाँले मन्त्रालयबाट गरिब, जेहेनदार तथा असहाय विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति समयमै विद्यार्थीको हातमा पु-याउन निर्देशन दिनुभयो ।
मन्त्रालयले बनाएको लक्ष्य पूूरा गर्न कर्मचारीमा सङ्कल्प, इच्छा शक्ति र सक्रियता हुनपर्नेतर्फ जोड दिँदै उहाँले भन्नुभयो, “देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय कमाण्ड कन्ट्रोलमा हुनुपर्छ । कुनै समस्या छन् भने सचिवमार्फत ल्याउनुहोस् ।” बैठकमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमै पाठ्यपुस्तक पु-याउन तयारीमा लाग्न निर्देशन दिनुभयो ।