राष्ट्रिय |

तीनवटाको गुरुयोजना अन्तिम चरणमा, एउटाको काम बढेन

काठमाडौं, पुस २८ गते । काठमाडौंमा निर्माण गर्न लागिएको तीन वटा ‘स्मार्ट सिटी’को भौतिक विकास योजना निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । काठमाडौंको इशान ,उत्तर(हरीत ) र आग्नेय गरी तीन स्मार्ट सहर विकास गर्ने योजना छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले चार वटा नयाँ सहर बनाउने गरी डीपीआर बनाएको भए पनि ललितपुरमा विकास गर्ने भनिएको स्मार्ट सहर स्थानीय बासिन्दाको असहमतिका कारण तीन वटाको मात्र भौतिक विकास गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणका प्रशासकीय अधिकृत सुवासचन्द्र अर्यालले बताउनुभएको छ ।
स्मार्ट सहरको भौतिक विकास गुरुयोजना शहरी विकास मन्त्रालयमा पठाउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । उक्त गुरुयोजना मन्त्रिपरिषदबाट पास भएपछि मात्र स्मार्ट सहर विकासका अन्य कार्य सुरु गरिने अर्याल बताउनुहुन्छ ।
काठमाडौंमा नयाँ शहरहरु बनाउन भन्दै सरकारले २०७४ असार ४ गतेदेखि तीन वर्षका लागि प्रस्तावित चार शहरका किल्ला तोकेर कित्ताकाट गर्न रोक लगाएको थियो । जसको म्याद गत असार ४ गते सकिएको छ । अब छिट्टै भौतिक विकास समितिको बैठक बसेर कार्ययोजना शहरी विकास मन्त्रालय पठाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।
यसअघि पनि प्राधिकरणले मन्त्रालयमा गुरुयोजना तयार गरेर पठाइसकेको थियो । तर मन्त्रालयले संशाेधनसहित पुनःखाका तयार गर्न आग्रह गर्दै फाइल फर्काइदिएको थियो ।
हाल प्रस्तावित शहरहरुको डीपीआर तयार भइसकेकोले मन्त्रिपरिषद बैठकबाट जग्गा प्राप्तिको निर्णय गरेर काम अघि बढाइहाल्नुपर्ने पक्षमा प्राधिकरण छ ।
यी स्मार्ट सहर एक लाख ३० हजार रोपनीमा निर्माण गरिने प्रधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यका विकास प्रधिकरणका अनुसार चाडैँ भौतिक पूर्वाधार विकास समितिको बैठक बसेर कार्यप्रक्रिया अगाडि बढाइनेछ ।
सहरी विकास विज्ञ तथा काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीले यो आयोजनाले काठमाडौंमा एकीकृत रहेको बस्तीलाई विस्तार गर्ने बताउनुभएको छ । जसले बढ्दो सहरीकरणलाई विस्थापित गर्न सक्छ । स्मार्ट सहर विकास भएसँगै काठमाडौंमा भइरहेको आन्तरिक बसाइसराइको चापलाई नियन्त्रण गर्न सक्ने तिवारीको भनाइ छ । उहाँले भन्नुभयो काठमाडौंमा आन्तरिक बसाइसाइ एकदमै बाक्लिएको छ । अव्यवस्थित सहरीकरणले बस्ती निर्माण विकासमा बाधा पुग्छ । यसकारण स्मार्ट बस्ती विकास आजको आवश्यकता नै होे ।
काठमाडौंको चार कुनामा विकास हुन लागेको स्मार्ट सिटीको लागि विदेशी दात्रि निकायले पनि सहयोग गर्ने भएकाले सरकारले पनि यसलाई उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
यस्तै सहरी विकास विज्ञ महेन्द्र सुब्बाले आधुनिक स्मार्ट सिटीले काठमाडौंमा केन्द्रीकृत भएर रहेको बस्तीलाई विकेन्द्रीकरण गर्न मद्दत पुग्ने बताउनुभएको छ । ‘काठमाडौंमा अव्यवस्थित रुपमा सहरीकरण भैरहेको छ । जसका कारण एउटै क्षेत्रमा ठूलो चाप छ । स्मार्ट सहर विकास गरेपश्चात् केन्द्रीकृत रहेको बस्तीलाई व्यवस्थापन गर्न सजिलो हुन्छ,’उहाँले भन्नुभयो ।
अहिलको स्मार्ट सिटी ठूलो लागत र धेरै मापनमा गर्न लागिएकाले गाह्रो भइरहेको उहाँले बताउनुभएको छ । यस प्रकारको स्मार्ट सहर क्षेत्रीय स्तरमा पनि विकास गर्नु आवश्यक रहेको सुब्बा बताउनुहुन्छ ।


निर्माणको तयारीमा रहेका तीन स्मार्ट सहरहरु

इशान सहर
काठमाडौंको पूर्वउत्तरतर्फ प्रस्तावित ‘इशान’को किल्ला पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जङ्गल हुँदै तेलकोट भन्ज्याङसम्म छ । पश्चिमतर्फ जोरपाटी क्रिकेट स्टेडियम, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटोसम्म छ ।
उत्तरतर्फ क्रिकेट मैदानदेखि साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुवारी, घट्टेखोला हुँदै तेलकोटसम्म र दक्षिणमा भक्तपुर पुरानो बाटोसम्म छ ।
यो सहरले कागेश्वरी मनोहरा नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ नम्बर वडा, शंखरापुर नगरपालिकाकाको ५, ६, ७ र ९ नमबर वडा, भक्तपुर नगरपालकाको २, ६ र १० नम्बर वडा, मध्यपुर थिमी नगरपालिकाको २, ६, ७, ८ र ९ नम्बर वडा र चाँगुनारायण नगरपालिकाको १, २, ३, ४ ५ नम्बर वडाको पूरै भाग र ६, ७, ८ केही भाग समेट्छ ।
यो आयोजनाको कुल लागत २८६ अर्ब २५ करोड रुपियाँ छ । एक लाख ३ हजार ५०० रोपनी जग्गा समेट्ने यो शहर योजना अनुसार बनेमा २० हजार ४४२ रोपनी क्षेत्रफलमा सडक बन्नेछन् । ५ हजार २२०.२३ रोपनी जग्गा खुला क्षेत्रमा रुपमा राख्न प्रस्ताव गरिएको छ । ५७ हजार ७२० रोपनी जग्गा भने प्लटका रुपमा फिर्ता गरिनेछ ।
यो आयोजनाका हुने खर्चमध्ये १०६.६११ अर्ब रुपियाँ नेपाल सरकारले व्यहोर्दा आयोजनाले व्यहोर्ने रकम १७९.६३९ अर्ब हुनेछ । प्रस्तावित आयोजना क्षेत्रमा हाल कायम मूल्य प्रति आना ११ लाख रुपियाँ छ । आयोजना बनेपछि बिक्री हुने घडेरीको मूल्य प्रति आना ३१ लाख हुने प्राधिकरणको दावी छ ।
यो आयोजनाको ४ हजार एक सय रोपनी सर्भिस प्लट राख्ने भएकाले त्यसको बिक्रीबाट २०३ अर्ब ३६ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको हिसाब छ ।
इशान शहर आयोजनामा प्रति कित्ताबाट स्थानीयबासीले औसत ३६.९८ प्रतिशत जग्गा योगदान गर्नुपर्छ । औसत ६३.०२ प्रतिशत जग्गा मात्रै फिर्ता हुन्छ । यो आयोजनाको निर्माण अवधि सात वर्ष तोकिएको छ ।

आग्नेय सहर
काठमाडौंको पूर्व दक्षिणमा प्रस्तावित ‘आग्नेय’ सहरको पूर्वतर्फ सिर्जना नगर चोकदेखि अरनिको राजमार्ग, घ्याम्पेडाँडा सडक, सूर्यविनायक जङ्गलको फेदी हुँदै गुण्डु बसपार्कसम्म सीमा तोकिएको छ । पश्चिमतर्फ बिरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक हुँदै गाम्चाचोक हर्षचोक, हनुमन्ते पुल हुँदै थिमी बिरुवा रोडसम्म र उत्तरतर्फ हनुमन्ते पुल, सिर्जना चोकससम्म किल्ला तय गरिएको छ ।
दक्षिणतर्फको सीमा गुण्डु बसपार्कदेखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै बिरुवा बसपार्कसम्म फैलिएको छ । यो किल्लाभित्र सूर्यविनायक नगरपालिका अन्तर्गतका १, ४, ५, ६ र ७ नं. वडाका भागहरु समावेश छन् । रु.२३ अर्ब २५ करोड लागतको यो शहर १८ हजार ५७१ रोपनीमा फैलिनेछ ।
त्यसमध्ये ३ हजार ५०४ रोपनी क्षेत्रफल सडकमा उपयोग हुनेछ भने ९९६ रोपनी खुला क्षेत्र रहनेछ । यो आयोजनमा स्थानीयले प्रतिकित्ता औसत ३५ प्रतिशत जग्गा योगदान गर्नुपर्छ । ६५ प्रतिशत जग्गा भने प्लट बनाएपछि सरकारले फिर्ता गर्नेछ ।
एक हजार रोपनी जग्गा सर्भिस प्लटमा रुपमा राखिनेछ । त्यसलाई बिक्री गरेर ४० अर्ब आम्दानी गर्न सकिने डीपीआरबाट देखिएको छ । यो निर्माण सुरु भएको ५ वर्षमा निर्माण सकिने प्राधिकरणको दावी छ ।


हरित (उत्तर) सहर
काठमाडौंको उत्तरतर्फ बन्ने हरित सहर पूर्वमा भिल्ली, सपनतीर्थ दोभान हुँदै भूतखेल चोकसम्मको हुनेछ । पश्चिमतर्फ भेडीगोठ चोक (तारकेश्वर)हुँदै काभ्रेस्थली बाईपाससम्म, उत्तरतर्फ चिम्बर पोखरी हुँदै बिहानी चोक, महादेव मन्दिर, क्रियापुत्री भवनसम्म र दक्षिणतर्फ सूर्य दर्शन (टोखा) हुँदै शेर्पा पेट्रोल पम्प, भत्केको पुल, नागपोखरी, तल्लो भेडीगोठ चोक, काभ्रेस्थली स्कुल चोकसम्म किल्ला तोकिएको छ ।
तारकेश्वर नगरपालिकाका १, २ र ७ नम्बर वडा र टोखा नगरपालिका अन्तर्गतका १, २ र ३ नं.वडा यो शहरमा समावेश छन् । यो आयोजनाको कुल लागत २५ अर्ब ८३ करोड रुपियाँ छ ।

१३ हजार ६२३.५ रोपनीमा फैलिने यो सहरको २ हजार ८१५.५ रोपनी सडक क्षेत्रले ओगट्नेछ । यो सहरमा ६९२.३० रोपनी खुला क्षेत्र र ९६९.९९ रोपनी सर्भिस प्लट रहनेछ ।
हाल ११ लाख रुपैयाँ प्रति आनामा कारोबार भइरहेको यहाँको घडेरी सहरका पूर्वाधार बनेपछि २४ लाख रुपैयाँ आनासम्म पुग्ने प्राधिकरणको अनुमान छ । सर्भिस प्लटबाट आयोजनाले ३६ अर्ब ९ करोड आम्दानी गर्ने लक्ष्य छ ।
हरित सहरमा प्रति कित्ता औसत ३२.८७ प्रतिशत स्थानीयले योगदान गर्नुपर्नेछ भने ६७.१३ प्रतिशत जग्गा आयोजनाले फिर्ता गर्नेछ ।काठमाडौं उत्तर तर्फको नयाँ नगरमा तारकेश्वर नगरपालिकाको १,२ र ७ न वडाहरु र टोखा नगरापालिकाको १,२ र ३ वडाहरु समावेश भएका छन् ।