प्रतिवेदन तयार गर्दै विज्ञ टाेली, केही दिनमा सार्वजनिक गरिने
काठमाडाै ,पुस २८ गते । गत असार १ गते आएको बाढीले पुर्याएको क्षति र त्यहाँको भौगर्भिक अवस्थाको बारेमा अध्ययन गर्न करिब दुई साता अघि एसियाली विकास बैंक (एडीबी)काे टोली मेलम्ची नदीको उद्गमस्थल भेमाङथाङ पुगेको थियो । टोलीले त्यहाँ रहँदा माटोको थिकनेस, बगेको माटोको अवस्था र चट्टानको अवस्थितिको विषयमा अध्यययन गरेको एडीबी भूगर्भ टोली प्रमुख प्रमुख हरि घिमिरेले बताउनुभयो ।
तीन किलोमिटर वरिपरिको सबै क्षेत्रमा नै भौगर्भीक अध्ययन गरिएको उहाँले जानकारी दिनुभयो । हिमपात परेकाले अध्ययनको केही काम मात्र बाँकी रहेको उहाँको भनाइ छ । ‘तीन किलोमिटर जमिनको सबै भाग स्क्यान गरेर अध्ययन गरेका छौँ । मौसम प्रतिकूल भएकाले अध्ययनको डीजीपीएस (डिफ्रेन्सिलय ग्लोबल पोजिसनल सर्भे) काम मात्र बाँकी छ, अरु काम भने सम्पन्न भयो,’ उहाँले भन्नुभयो । डीजीपीएसको काम गर्नका लागि आकाश खुल्नुपर्दछ । डीजीपीएस सर्भेका लागि खोला कहाँकहाँबाट बगेको छ भन्ने मूल ठाउँ पत्ता लगाउन गरिने काम हो ।
मौसममा सुधार भएर हिउँ पग्लन सुरु भएसँगै अध्ययन टोली पुनः भेमाङथाङ जाने टोली प्रमुख घिमिरेले बताउनुभयो । अबको अध्ययन डेढ घण्टामै सकिने भएकाले हेलिकोप्टरलाई त्यही क्षेत्रमा होल्ड गरेर काम सकेर फर्कने अध्ययन टोलीको योजना छ । बाँकी रहेको काम सकेको १५/२० दिनमै सबै अध्ययनको प्रतिवेदन सार्वजनिक गरिने टोली प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
अध्यननका लागि लगिएको ८० लाख बराबरको सामग्री हिउँमा पुरिएको घिमिरेले सुनाउनुभयो । तर, अध्ययनको सबै रेकर्ड ल्यापटपमा रहेको र त्यो सुरक्षित रहेकाले प्रतिवेदन चाँडै आउने उहाँ बताउनुहुन्छ । अध्ययनको प्रतिवेदन पहिले एडीबीलाई बुझाएर मात्र सार्वजनिक गरिनेछ ।
प्रारम्भिक अध्ययनमा पहिरो गएर थुप्रिएको माटोमा पानी परिरहेकाले बगेको देखिएको छ । अध्ययन माटोको सङ्कलित मात्रा र खानेपानीको हेडबक्सलाई सुरक्षित गराउने उपायको बारेमा रहेको टोली प्रमुख घिमिरेले बताउनुभयो ।