प्रशासन कार्यालयका कर्मचारीलाई सङ्क्रमण पुष्टिपछि आकस्मिक बाहेकका सेवा बन्द
शिवराज ढुंगाना
अछाम, माघ ३ गते । प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय अछामले आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवा मंगलसेन बन्द गरको छ । कोरोना सङ्क्रमितबाट अन्य कर्मचारी र सेवाग्राहीलाई समेत फैलनसक्ने भन्दै एक हप्ताका लागि कार्यालय बन्द गरिएको कार्यालयका नायब सुब्बा महानन्द जोशीले जानकारी दिनुभयो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार माघ ४ देखि माघ १० गतेसम्मका लागि सबै सेवा बन्द गरिएको बताइएको छ । सूचना जारी गरेर कार्यालयले कोरोना फैलनबाट रोक्नका लागि सेवा बन्द गरिएको कार्यालयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी, नागरिकता फाँटका नायब सुब्बा, खरिदार, कार्यालय सहयोगी, राष्ट्रिय परिचयपत्र फाँटलगायतमा कार्यतरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित पाँचै जनाको होम आइसोलेसनमा उपचार भइरहेको बताइएको छ । अछाममा पछिल्लो समय कोरोना सङ्क्रमणसँग मिल्दो लक्षण भएका व्यक्तिहरु बढ्दो क्रममा रहेका छन् ।