राष्ट्रिय |

सतर्कता केन्द्रले २१ मुद्दा अख्तियार पठायो

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ५ गते । राष्ट्रिय सतर्कता केन्द्रले चालू आर्थिक वर्षमा २१ वटा उजुरीमाथि छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका लागि पठाएको छ । सतर्कता केन्द्रले गरेको अनुसन्धानमा अनियमितता देखिएपछि थप अनुसन्धानका लागि आयोगसमक्ष पठाएको हो ।
केन्द्रका सचिव दिनेशकुमार घिमिरेले नेपाल वायु सेवा निगमको औषधि ढुवानी तथा कोरोनाका समयमा विदेशबाट सर्वसाधारण ल्याउँदा र वीर अस्पतालमा क्यान्सर परीक्षण र उपचारका लागि प्रयोग गरिने उपकरणसहित २१ वटा मुद्दा अख्तियारमा पठाएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा केन्द्रमा २६३ वटा उजुरी परेका थिए ।

गत आर्थिक वर्षको २५० गरी कुल ५१३ वटा उजुरीमध्ये २२१ वटा उजुरी हालसम्म फस्र्योट गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४७ वटा उजुरीको अनुसन्धानपछि निर्देशन दिइएको, १५३ वटा तामेलीमा राखिएको, ७० वटा उजुरीको छानबिन गर्न टोली गठन गरिएको तथा ७३ वटा उजुरीबारे प्रतिवेदन पेस गरेको छ । केन्द्र चालू आर्थिक वर्षमा हालसम्म १४७ वटा मन्त्रालय तथा सरकारी कार्यालयमा समय पालना र पोसाक सम्बन्धमा अनुगमन गरेको छ । जसमध्ये ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा उपस्थित नरहेको र १५६ जना पोसाक नलगाएको पाइएको छ । सचिव घिमिरेले केन्द्रले अनुसन्धान एवं छानबिन गरी प्रतिवेदन बनाएर सिफारिस गर्दै आएकोले कारबाही नहुने हो कि आशङ्काका बीच काम गर्नुपरेको बताउनुभयो ।

केन्द्रलाई कारबाही गर्ने अधिकार नहुँदा छानबिनका क्रममा सम्बन्धित निकायलाई दिँदै आएको निर्देशनको पालना नभएको उहाँले जिकिर गर्नुभयो । “छानबिनका क्रममा पटक–पटक ताकेता गरे पनि कुनै जवाफ नआउँदा अब उप्रान्त विभागीय कारबाहीका लागि सिफारिस गर्न थालेका छौँ”, सचिव घिमिरेले बताउनुभयो । केन्द्रले चालू आर्थिक वर्षमै विश्व बैङ्कको सहयोगमा निर्माणाधीन सडक विभागअन्तर्गत सञ्चालित ३५ वटा पुल सुधार तथा मर्मत आयोजना र १७ वटा राष्ट्रिय गौरवका आयोजना गरी ५२ वटा आयोजनाको प्राविधिक परीक्षणका लागि सम्झौता अन्तिम चरणमा रहेको जनाएको छ ।