राष्ट्रिय |

सिमकोट विमानस्थल निर्माणको कार्य रोकियो

राजन रावत
हुम्ला माघ ७ गते । सिमकोट विमानस्थलअन्तर्गतको नयाँ एप्रोनको निर्माणकार्य रोकिएको छ । हिमपातले चिसो बढेको कारण कालोपत्र नहुने भएपछि निर्माणकार्य रोकिएको हो । विमानस्थलको निर्माणकार्य गर्दै आउनुभएका तेण्डी सेर्पाले विस्तारै भइरहेको काम चिसो बढेपछि रोकिएको बताउनुभयो । उहाँले विमानस्थलभित्रकै नयाँ एप्रोनको अन्य निर्माणकार्य सकिएर कालोपत्रे गर्ने कार्य भई रहेको समयमा चिसो बढेपछि काम रोक्नुपरेको बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणको सिमकोट विमानस्थल निर्माण आयोजनाका साईट इन्चार्ज अजय कुमार गुप्ताका अनुसार तापक्रम माईनस हुन थालेपछि कालोपत्रे गर्ने कार्य नहुने भएको हुँदा काम बन्द गरिएको हो । उहाँले उक्त योजनाको ६० प्रतिशत कार्य सम्पन्न भएको भए पनि मुख्य काम कालोपत्रे भएपनि चिसोको कारण बन्द भएको बताउनुभयो । एप्रोन निर्माणका लागि निर्माण कम्पनी एपेक्स द ग्याल्भा क्याराभ्यान जेभीसँग आर्थिक वर्ष ०७५/०७६ मा निर्माणका लागि सम्झौता भएको थियो । उहाँले हिमपात, कोरोना र अलकत्रा ढुवानीमा समस्या देखिएपछि काममा ढिलाइ भएको बताउनुभयो ।

विमानस्थलमा हालको एप्रोनले जहाजलाई पार्किङमा समस्या देखिएपछि नयाँ एप्रोनको निर्माणकार्य थालिएको होे । वर्खाभरि कोरोना समस्याले काम रोकिएको र गत असोजबाट सुरु भएको काम अहिले चिसोले काम अगाडि बढ्न नसकेको हो । उहाँले अब रोकिएको काम आगामी फागुन अन्तिमबाट मात्र सुरु हुने बताउनुभयो । निर्माण सामग्री सबै निर्माणस्थलमा पुगिसकेको कारण काम सुरु हुने बित्तिकै सम्पन्न गर्ने लक्ष आयोजनाले लिएको छ । १९ करोड लागतमा निर्माण कम्पनीसँग आयोजनाले सम्झौता गरेको छ । नयाँ एप्रोनको कार्य सम्पन्न भए चार वटा साना जहाजलाई पार्किङ गर्न सहज हुनेछ । यो सिमकोट विमानस्थलको तेस्रो एप्रोन हो । हालको पार्किङस्थल साँघुरो भएको कारण पर्यटकीय समयमा विमानस्थलमा एयरट्राफिक समस्या हुने गरेको छ ।