राष्ट्रिय |

परिचयपत्र बाहक कर्मचारीका सवारीमा जाेरबिजाेर नलाग्ने

काठमाडौं,माघ ७ गते । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै आज (शुक्रबार) राति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुँदैछ । सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले आदेश जारी गरिसेकेको छ ।
शुक्रबार पुनः जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरुबारे समेत जानकारी गराएको छ । प्रशासनका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल,शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागू नहुने उल्लेख छ ।
यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाउने व्यवस्था छ ।
यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने प्रशासनले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुनेछैन ।
पत्रकारको हकमा भने सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएकाहरुको सवारी साधन तथा कूटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागू नहुने काठमाडौं प्रशासनले जनाएको छ ।