कोरोनाका कारण बन्द सेवा प्रवाह सुचारु
बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ १७ गते । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना सङ्क्रमणका कारण एक सातादेखि बन्द गरेको सेवा प्रवाह सोमबारदेखि सुचारु गरेको छ ।
सेवाग्राहीलाई परेको अप्ठेरो महशुस गरी खोपकार्ड अनिवार्य गरेर आलोपालो प्रणालीले स्थानीय तह छुट्याई सेवा प्रवाह सुरु गरिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सेवा प्रवाह गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ १० गतेबाट शान्ति सुरक्षा र मुद्दा सम्बन्धी कामबाहेक अन्य सबै सेवा बन्द गरिएको थियो ।
माघ ७ गतेको निर्णय अनुसार प्रत्येक स्थानीय तहलाई आलोपालो पद्धतिमा सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि तीन जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरु होम आइसोलेसनमा बसेर उपचार गरि रहेका छने । उहाँका अनुसार कोरोनाको जोखिम कायमै रहेकाले नौ वटा स्थानीय तहमध्ये दुई दिन तीन वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने गरी क्लष्टर मिलाएर सेवा प्रवाह सुरु गरेका छ ।
जसअनुसार आइतबार र सोमबार कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाँउपालिकाका सेवाग्राही, मङ्गलबार र बुधबार दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, सुनकोसी गाउँपालिकाका सेवाग्राही, बिहीबार र शुक्रबार हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।
सेवा प्रवाह सुरु गरिएपछि एक सातादेखि सुनसान जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चहलपहल बढेको छ ।