‘मेलम्चीको पानी वितरणका लागि तयारी गर्नुहोस्’
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २ गते । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पुनः वितरणका लागि हरेक किसिमले तयारी अवस्थामा रहन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई निर्देशन दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १४औँ वार्षिकोत्सवका अवसरमा सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आइतबार आयोजित समारोहमा उहाँले सो निर्देशन दिनुभएको हो । उहाँले काठमाडौँ उपत्यकामा देखिएको पानीको अभाव कम गर्न योजनाबद्ध ढङ्गले अगाडि बढ्नसमेत केयूकेएललाई निर्देशन दिनुभयो ।
यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने उद्देश्यसहित अहिले आयोजनाको पुनर्निर्माणको काम सुरु भइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउनु राज्यको दायित्व भएकाले सोझै धाराबाट पानी पिउन सक्ने अवस्था सिर्जना गर्न म सम्बद्ध निकायहरूलाई निर्देशन दिन्छु । ’’
उहाँले मेलम्चीको पानी वितरण गर्ने प्रणालीलाई चुस्त र दुरुस्त गर्न मेलम्ची आयोजना–२ अहिलेसम्म ३६० किलोमिटर पाइपलाइनको परीक्षण पूरा भई पानी वितरण सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइप एक हजार १५ किलोमिटर बिछ्याइएको छ । तीमध्ये करिब ३६ प्रतिशत पाइपको परीक्षण भएको छ । उहाँका अनुसार अहिले अस्थायी उपायका रूपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौँ उपत्यकामा ल्याउन आवश्यक प्रक्रिया पूूरा गरी ठेक्का सम्झौता गरिसकिएको छ । निर्माण कम्पनी अहिले निर्माणस्थलमा परिचालित भई काम सुरु गरिसकेको छ ।