राष्ट्रिय |

कार्यव्यवस्था परामर्शको बैठकमा एमाले सहभागी नहुने

काठमाडौं, फागुन ४ गते । प्रतिनिधिसभा संसदको बैठक अगाडि बुधबार  सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने बताइएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिनुभएको हो । ‘संसदीय काम, कारबाहीमा भाग लिने र छलफल गर्ने वातावरण नै उहाँहरुले बनाउनुभएन । सभामुखद्वारा पनि हाम्रो कुराको सुनुवाई भएन ।’, एमाले सहभागी भए पनि त्यसको कुनै अर्थ नभएको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा संसद पुर्नस्थापना भएदेखि नै एमालेले १४ जना सांसदको कारबाहीको माग राख्दै संसदमा निरन्तर विरोध जनाउँदै आएको छ । बुधबार बस्ने संसदको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालगायतका विषय टेबल हुने भनिए पनि एमालेले यसमा सकारात्मक धारणा देखाएको छैन ।