राष्ट्रिय |

निर्वाचन आयोगले मनायो छैटाैं निर्वाचन दिवस

काठमाडौं, फागुन ७ गते । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ, सँगै’ भन्ने मूल नाराका साथ छैटाैं निर्वाचन दिवस मनाएको छ ।

निर्वाचन दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरुले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्पूर्ण दिनको स्मरण गर्दै ‘निर्वाचनमा सबै सधैँ, सँगै भन्ने मूलनाराका साथ छैठौं निर्वाचन दिवस मनाइरहेको जानकारी दिनुभयो ।

छैटाैं निर्वाचन दिवसको आवसरमा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन दिवसको यस गौरवमय र पावन अवसरमा आयोगलाई अगाडि बढ्न निरन्तर सहयोग, योगदान र प्रेरणा प्रदान गर्नुहुने अग्रजहरुको सम्मान एवं प्रशंसा गर्दै सम्पूर्ण नेपाली मतदाताहरुलाई हार्दिक शुभकामना दिनुभएको छ ।

साथै, आगामी २०७९ वैशाख ३० गते शुक्रबारका दिन एकै चारणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आम मतदाताहरुको स्वतःस्फूर्त, सक्रिय एवं उत्साहजनक सहभागिताको निम्ति उहाँले आह्वान गर्नुभयो । निर्वाचन वालिक मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड  भएको उहाँको भनाइ छ ।

आगामी निर्वाचनमा करिब एक करोड ७९ लाख मतदाता कायम भई थप करिब ३८ लाख मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएको उहाँले बताउनुभयो । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७२ हजार ४२४ मतदाता थिए ।

नेपालको संविधानले व्यवस्था गरे अनुसार १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकहरुको मताधिकार सुनिश्चित गर्न मतदान नामावदी सम्बन्धी ऐन बमोजिम नाम संकलन तथा दर्ता भई निर्वाचनको अघिल्लो दिन वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदातालाई मतदानको अधिकार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।