‘सुरक्षाकर्मीको मनोबल उच्च हुनुुपर्छ’
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षाकर्मीको मनोबल उच्च राख्न सकेमा नागरिकको शान्तिसुरक्षा प्रभावकारी हुने बताउनुभएको छ । गृह मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै गृहमन्त्री खाणले न्यून स्रोत साधनबाट महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयले अघि सारेका सुधारका कार्यक्रम र उपलब्धिका विषयमा छलफल गरेको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले गृह प्रशासनले अघि सारेका रूपान्तरणकारी क्रियाकलाप सञ्चालन गर्न आयोगको सहयोग निरन्तर रहने बताउनुभयो । गृहसचिव टेकनारायण पाण्डेले ‘सुरक्षाका लागि विकास र विकासका लागि सुरक्षा’ अवधारणा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ अन्तर्गत रहेकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले विपत् व्यवस्थापन र यसका लागि सञ्चालित विभिन्न क्रियाकलाप सम्पन्न गर्न सम्बद्ध निकायबीच सहकार्य आवश्यक छ भन्नुभयो ।
त्यस्तै मन्त्रालयका सहसचिव एवं नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले मन्त्रालय मातहतका निकायहरूको समग्र प्रगति अवस्था र पुँजीगत खर्चका विषयमा प्रस्तुतीकरण गर्नुभयो । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गृह प्रशासनअन्तर्गत विभागका महानिर्देशक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महालेखा नियन्त्रकको कार्यालय र अर्थ मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता थियो ।