राष्ट्रिय |

जमुनाहास्थित नेपाल–भारत सिमाना दुई दिन पूर्णरुपमा बन्द हुने


सिराज खान
नेपालगञ्ज, फागुन १२ गते । भारतको बहराईच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा यहाँस्थित नेपाल भारत जमुनाह सीमा नाका ६० घण्टाका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

बाँकेसँग जोडिएका सिमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतबार हुने भएको हुँदा फागुन १३ गते शुक्रबार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमबार विहान ६ बजेसम्मका लागि सिमाना पूर्णरुपमा बन्द गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई मीनबहादुर विष्टका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीबीच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सिमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइनेछ ।

उहाँले आपतकालीन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने हुँदा सर्वसाधारणले सोही बमोजिम गर्नुपर्ने बताउनुभयो । सो बारेमा सुचना दिने काम गरिरहेको पनि सई विष्टले बताउनुभयो ।

भारतीय क्षेत्रमा पनि सोही प्रकारको सूचना भारतीय सुरक्षाकर्मीले सार्वजनिक गरेका छन् । सीमापारि भारतको रुपैडिहा थानाका अनुसार निर्वाचन आयोगको निर्देशन बमोजिम ६० घण्टाका लागि सीमाना कडा रुपमा बन्द गरिनेछ ।

दुबै देशका सुरक्षा अधिकारीहरुले आ–आफ्नो देशका नागरिकलाई सो बारेमा अग्रिम जानकारी दिने कार्य विभिन्न माध्यमबाट गरिरहेकाले सिमानामा कुनै समस्या नहुने पनि दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

निर्वाचन प्रयोजनका लागि रुपैडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएको तथा सिमानामा एकसाता अघिदेखि नै चेकजाँच समेत कडा पारिएको रुपैडिहा प्रहरी थानाले जनाएको छ ।

सुरक्षा व्यवस्थापन अन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त गस्ती गरिरहेको तथा गाउँबस्तीमा समेत सुरक्षालाई थप चुस्त बनाइएको जानकारी दुबै देशका सुरक्षा निकायले दिएका छन् ।

सिमानाको मुख्य नाका बाहेकका अन्य साइड नाकाहरुमा पनि सुरक्षाकर्मीहरु तैनाथ गरिएको भारतीय प्रहरीले जनाएको छ ।