राष्ट्रिय | राजनीति | प्रदेश |

एमसीसी गठबन्धन दललाई गलपासो : अध्यक्ष ओली

रमेश पौडेल
पोखरा, फागुन १३ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी गठबन्धन दललाई गलपासो भएको वताउनुभएको छ । गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई पोखरामा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।

माओवादी र नेकपा (एस) लाई लक्षित गदै अध्यक्ष ओलीले भन्नुभयो, “सरकारमा बसेकाहरुको तमासा छ, सरकारमा पनि बस्ने, कार्यकर्ता पठाएर सडक पनि भत्काउन लगाउने, यो कस्तो लोकतन्त्र हो ?”

एमाले अध्यक्ष ओलीले एमसीसी पास गर्न सरकारसँग अहिले बहुमत रहेको बताउनुभयो । एक सय ६५ भोट सरकारसँग छ, एमसीसी पास गर्न कस्ले रोकेको छ र ? उहाँले भन्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले एमसीसीबारेमा एमालेले चिन्ता लिनुपर्ने विषय नभएको बताउनुभयो ।

गठबन्धन दलले गठबन्धन टुट्न नदिनेमै लागेको उहाँले बताउनुभयो । एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने उहाँहरुको तयारी देखेको छुँ अध्यक्ष ओलीले भन्नुभयो । आगामी निर्वाचनमा जस्तोसुकै गठबन्धन आए पनि एमालेले सबैलाई पछार्ने उहाँले दावी गर्नुभयो । कार्यक्रमा बिभिन्न दलबाट एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकतालाई अध्यक्ष ओलीले स्वागत गर्नुभयो ।