राप्रपा नेपालको मधेस र गण्डकी प्रदेश प्रमुखमा यादव र अधिकारी
काठमाडौं। राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ। पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम शुक्रबार मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्रबहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको हो।
राप्रपा नेपाल केन्द्रीय सचिवालयका अनुसार शुक्रबार अध्यक्ष थापाले प्रदेश प्रमुखको जिम्मेवारी यादव र अधिकारीलाई दिनुभएको हो। सङ्गठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लामा चाँडै कार्यसमिति चयन गर्ने बताइएको छ।
पार्टीले भ्रातृ सङ्गठनमा विद्यार्थी सङ्गठन, पूर्व प्रहरी परिषद् गठन गरिसकेको छ भने युवा सङ्गठन को फागुन २१ गते, महिला सङ्गठनको २४ गते र युवक मोर्चाको २८ गते घोषणासभामार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ।