एमसीसीले भौतिक विकासमा सहयोग
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २४ गते । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सरकारको आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरिएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन गृह विभागीयको १२औँ अधिवेशन उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पारित भएका कारण विदेशी सेना नेपाल आउने कुरा हल्ला र भ्रममात्र भएको बताउनुभयो ।
एमसीसीले विद्युत्मा विकास, गरिबी निवारण र भौतिक विकासमा सहयोग गर्ने उहाँको भनाइ छ । एमसीसी सहयोगबाट विद्युत् ट्रान्समिसन लाइन निर्माण र सडक निर्माण हुनेछ ।उहाँले विद्युत्को तारबाट विद्युत् आउने, विदेशी सेना नआउने कुरा स्पष्ट पार्नुभयो । “विद्युत्को तारबाट विद्युत् पो आउँछ, सेना आउँदैन,” गृहमन्त्री खाणले थप्नुभयो ।
उहाँले राष्ट्रसेवक कर्मचारीलाई उचित पारिश्रमिक दिन सकियोस् भन्ने पक्षमा वर्तमान सरकार रहेकाले सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिनुभयो । कार्यक्रममा कर्मचारी सङ्गठनका अध्यक्ष पुण्य ढकालले कर्मचारीको वृत्तिविकास र पेसागत अधिकार तथा नागरिक सेवाको विषयमा धारणा राख्नुभयो ।