राष्ट्रिय |

अर्को सूचना नभएसम्मका लागि नयाँ लाइसेन्स आवेदन बन्द

काठमाडौं, फागुन ३० गते । चैत १ गते भोलि (मंगलवार)देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो ।

लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरुको चाप बढेको हो । ‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।