लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : पूर्वप्रधानमन्त्री नेपाल
गोरखा, चैत ४ गते। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पुर्याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै पूर्वप्रधानमन्त्री नेपालले लाप्राक र बारपाकको विकासमा पहल गर्ने बताउनुभएको हो।
सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पु¥याउन सम्बन्धित निकायमार्फत पहल गर्ने उहाँको भनाइ छ। लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उहाँले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिनुभएको हो।
‘लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ', उहाँले भन्नुभयो, ‘यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ।’ उहाँले लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभयो।
विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालले जोड दिनुभएको छ। ‘विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो’, उहाँले भन्नुभयो, ‘तपाईहरु पनि लाग्नुस, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ।’