राष्ट्रिय | राजनीति |

एमसीसी पारित भएपछि नेपालको शाख बढेको छ : प्रवक्ता महत

सिराज खान

नेपालगञ्ज, चैत ५ गते। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसीका बारेमा खडा गरिएको भ्रमको पर्दा खुलेको उल्लेख गर्दै कांग्रेस सधैं सत्यका पक्षमा उभिने पार्टी भएको बताउनुभएको छ।

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले एमसीसी नेपालको हितमा भएकाले कांग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैं एउटै बोली बोलेको प्रष्ट पार्नुभयो।

उहाँले एमसीसी पारित भएपछि नेपालको इज्जत र शाख बढेको उल्लेख गर्नुभयो। ‘एमसीसी पारित भएपछि अन्तर्राष्ट्रियस्तरमा खस्किएको शाख र इज्जत जोगिएको छ’, महतले भन्नुभयो।

कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ, त्यही अनुसार निर्णय लिने उहाँको भनाइ छ। ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, हामी पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं’, उहाँले भन्नुभयो।

आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने उहाँले बताउनुभयो। कांग्रेसले चैतभित्र उम्मेदवारको टुंगो लगाउनेसमेत उहाँले सो अवसरमा बताउनुभयो।

घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई घरघरमा पुग्न प्रवक्ता महतले आह्वान गर्नुभयो।