राष्ट्रिय |

न्याय सेवा आयोगको बैठक, १८५ कर्मचारीको सरुवा

काठमाडौँ, चैत ६ गते  न्याय सेवा आयोगकोआजको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले उक्त सेवाका सो कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।

बैठकले जिल्ला न्यायाधीशको परीक्षा उत्तीर्ण गरेका दुईलाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । लिखित परीक्षा तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण हुनुभएका भुवन गिरी र ओमबहादुर सोडारीलाई बैठकले जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।