राष्ट्रिय |

लेटाङ घटना : दोस्रो दिन पनि लेटाङमा कर्फ्यु आदेश जारी

हरिप्रसाद कोइराला
उर्लाबारी, चैत ८ गते । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा मङ्गलबार दोस्रो दिन पनि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार बिहानदेखि सुरु भएको कर्फ्यु आदेश मङ्गलबार पनि जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा लेटाङको चिसाङ खोलाको पुल पूर्व, मोरङ्गी खोला पश्चिम, वडा नं.६ को कार्यालय दक्षिण र गङ्गेचौक कमलपुरबाट उत्तर निषेधाज्ञा जारी गरेको हो । आज प्रहरीले माङकिङ पनि गरेको छ । शान्तिसुरक्षा कायम राख्न र थप क्षति नहोस् भनेर कर्फ्यु आदेश गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आइतबार बिहान ११ बजेदेखि राति ९ बजेसम्म अशान्त बनेको मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नारावाजी र आगजनी गरेका थिए । सोही क्रममा विद्यार्थी र अभिभावकको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । घटनामा १२ प्रहरी र आठ स्थानीय घाइते भएका छन् । घाइतेको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले हिंसामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।