स्थानीय तह निर्वाचनमा सहभागी हुन हुम्लामा नौ नयाँ दल दर्ता
राजन रावत
हुम्ला, चैत ८ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन हुम्ला जिल्लामा नौ वटा नयाँ दलले आवश्यक कागजात निर्वाचन कार्यालयमा पेश गरेका छन् । स्थानीय तह निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता भएको र नियमत जिल्लाका नौ दलले आवश्यक कागजातहरु कार्यालयमा पेश गरेको आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा नयाँ दर्ता भएकामध्य हुम्लामा नौ दलले मात्र आफ्नो आवश्यक कागजात कार्यालयमा पेश गरेको बताउनुभयो । नौ दलले जिल्ला कार्य समिति गठनको मिति, पदाधिकारी र जिल्ला कार्य समितिको विवरण कार्यालमा पेश गरेका हुन् ।
उहाँका अनुसार कार्यालयमा प्राप्त विवरण आयोगमा पठाउने कार्य समेत भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, समाजवादी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी, समाजवादी, सामाजिक एकता पार्टी, जन समाजवादी पार्टी, नेपालका लागि नेपाली पार्टी र उन्नत लोकतन्त्र पार्टी रहेका छन् ।
यीबाहेक जिल्लामा राष्ट्रिय दलको मान्यता प्राप्त दलहरु नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द) र जनता समाजावादी पार्टी क्रियाशिल रहँदै आएका छन् । अब हुम्ला जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा १३ वटा दलको नामबाट निर्वाचनमा भाग लिन पाउने छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लाबाट पनि १३ दलले भाग लिएका थिए । सो निर्वाचनमा भाग लिएकामध्य यसपटक जिल्लामा कागजात पेश नगर्ने पार्टीहरुमा नेमकिपा, जनजागरण, राष्ट्रिय जनमोर्चा, नेपा पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टी, नेकपा माले समाजवादी रहेका छन् । केही दलहरु भने पार्टी एकता भइसकेका छन् ।