राष्ट्रिय |

उच्च अदालत दिपायलमा मुद्दाको भर्चुअल सुनुवाइ सुरु

डिलबहादुर सिंह
डोटी, चैत ८ गते । उच्च अदालत दिपायलले नेपालमै पहिलो पटक उच्च प्रविधियुक्त क्यामेरासहित डिस्प्ले जडान गरेर मुद्दाको भर्चुअल सुनुवाइको सुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीले भर्चुअल सुनुवाइको उद्घाटन गर्नुभएको छ । भर्चुअल सुनुवाइ कार्यक्रमको उद्घाटन गर्नुहुँदै न्यायधीश रेग्मीले उच्च अदालत दिपायलले प्रविधिको प्रयोग गरेर गरेको मुद्दाको सुनुवाइ कार्यको देशका अन्य न्यायलयहरुले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

उच्च अदालत दिपायलका कायम मुकायम न्यायाधीश टेकनारायण कुँवरका अनुसार सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय कानुनी सहायता परियोजनाअन्तर्गत न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यका साथ सो कार्यको थालनी गरिएको हो । न्यायधीश कुँवरले भन्नुभयो, ‘उच्च अदालत दिपायलमा ९० प्रतिशतभन्दा बढी कैलाली जिल्ला अदालतबाट भएका फैसला उपरका छन् । धनगढीदेखि दिपायल दुई सय किलोमिटर तय गरी तारेख लिन र बहस गर्न आउने कानुन व्यवसायी र मुद्दाका पक्षहरुको बाध्यता यस कार्यले हटेको छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले उच्च अदालतमा भएको भर्चुअल माध्यामबाट मुद्दाको सुनुवाइ कार्यले न्यायसम्पादन प्रक्रियालाई सहज भएको बताउनुभयो । मन्त्री जोशीले भन्नुभयो,‘न्याय पाउनको निमित्त पर्खाइमा रहेको व्यक्तिलाई छिटो न्याय चाहिन्छ, आर्थिक अभावका कारणले पनि अदालतसम्म आउन नसक्ने व्यक्ति धेरै छन् । यस कार्यले सम्बन्धित सबै पक्षलाई सहज भएको छ ।’

यस प्रणालीको प्रयोगबाट कारागारमा रहेका थुनुवाहरुले आफ्नो कानुन व्यवसायीले गरेको बहस प्रत्यक्ष सुन्न पाउने र इजलाससँग छलफलमा सहभागी हुन पाउनेछन् । यसबाट अभियुक्तको स्वच्छ सुनुवाइको हकको संरक्षण हुने बताइएको छ ।

पछिल्लो समयमा उच्च अदालत दिपायलले न्याय सम्पादन प्रक्रियालाई छिटो छरितो बनाउँदै लगेको छ । उच्च अदालत दिपायले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म उच्च अदालत दिपायलमा एक हजार ५२ मुद्दा दर्ता भएकोमा ४३१ फर्छयाेट भइ ६२१ मुद्दा बाँकी छन् । १८ महिनाभित्रका १२ वटा र बाँकी सबै एक वर्षभित्रका छन् ।