राष्ट्रिय |

सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : मन्त्री बडू

गोविन्द शर्मा
बाँके, चैत ९ गते । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

“नेपालमा सामुदायिक रेडियोहरु रुपान्तरणको अभियानमा प्रत्यक्ष जोडिएका छन्,”मन्त्री बडूले भन्नुभयो, “अब अन्य भूमिकासँगै तीनवटै तहको सरकारलाई जनताप्रति उत्तरदायी बनाउन तपाईहरुको भूमिका महत्वपूर्ण छ ।’’

मन्त्री बडूले सामुदायिक रेडियो प्रशारक सङ्घ(अकोराब)को आयोजनामा बुधबारदेखि नेपालगञ्जमा सुरु भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको नेपालगञ्जमा उद्घाटन गर्नुभएको छ ।

उहाँले वर्तमान सरकार विशेष परिस्थिति र अवस्थामा लोकतन्त्रको रक्षाका लागि स्थापना भएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन आउन नदिने बताउनुभयो । पूर्ववर्ती सरकारले ल्याएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुनमा संशोधन गरिएको मन्त्री बडूको भनाइ छ । उहाँले आम सञ्चारले अब आम नागरिकको जीवनस्तर र आर्थिक विकासमा सुधारतर्फ विशेष जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमाल, नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य केशव झा, पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगञ्ज उप–महानगरपालिकाका कार्यवाहक प्रमुख उमा थापामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा सामुदायिक रेडियोमा योगदान प¥याएबापत पूर्व अध्यक्षहरु मीनबहादुर शाही, मोहन चापागाई, रेडियो स्वर्गद्वारीका दधिराम सुवेदी, कलाकार श्यामानन्द सिंह, पतिराम थारु, पत्रकार रोशन तिवारी, पवित्रा पराजुली, राजन रुचाल, प्रदीप आचार्य, स्नेह कर्ण र नन्दा थापालाई पुरस्कृत गरिएको थियो । अकोरावका अध्यक्ष अर्जुन गिरीका अनुसार २२ औँ स्थापना दिवसको अवसर पारेर १६ औँ वार्षिक साधारणसभामा रेडियो सम्मेलन आयोजना गरिएको हो । अध्यक्ष गिरीले देशभरका सामुदायिक रेडियोका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमले सामुदायिक रेडियोको अबको कार्यदिशा तय गरिने बताउनुभयो । सम्मेलन बिहीवार सम्पन्न हुनेछ ।