स्थानीय निर्वाचन प्रति शंका गर्नुपर्दैन : गृहमन्त्री खाँण
जानु पाण्डे
कपिलवस्तु, चैत्र ९ गते । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयको समुद्घाटन भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले एक समारोहको बीच बुधबार मुख्यालयको समुद्घाटन गर्नुभएको हो । २०५७ सालदेखि सञ्चालन भएको गणको २०७५ साल भदौ ६ गते स्तर उन्नती भइ बाहिनीको रुपमा स्थापना भएको थियो ।
समुद्घाटन कार्यक्रमको सम्बोधन गर्दै गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन कायम भएको बताउनुभयो । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीको कडा मेहनत भएको बताउँदै लुम्बिनी प्रदेश बाहिनी नेपालकै अब्बल बाहिनी बन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
सम्बोधनको क्रममा उहाँले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनको लागि सरकारले तयारी गरेको बताउनुभयो । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको बताउनुभयो ।
तराई–मधेसमा विभिन्न जातजातिको बसोबास हुने हुँदा स्थानीय जातजाति नै देशको सीमा रक्षक रहेको दाबी गर्नुभयो । एमसीसीको प्रसङ्ग कोट्याउनुहुँदै उहाँले देशमा विभिन्न आन्दोलन भएको र सो आन्दोलनमा सशस्त्र प्रहरीले चोट खाएर पनि देशलाई शान्ति व्यवस्था कायम राख्न सफल भएको बताउनुभयो ।
स्थानीय निर्वाचन भयमुक्त वातावरणका साथ सम्पन्न गर्न भएकोले यसमा सुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने बताउनुभयो । उहाँले नेकपा महासचिव विप्लव प्रति इगिङ्त गर्दै निर्वाचन प्रति कुनै शंका नगर्न आग्रह गर्दै स्थानीय तहको निर्वाचनमा भाग लिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र–राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो । सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा ४१ विओपि स्थापना भइ सकेको र चालु आर्थिक वर्षमा १७ थप गरिने तयारी भएको बताउनुभयो ।
कुल ५० विगाहा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका युनिटहरु रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ्गले बताउनुभयो । समुद्घाटन् कार्यक्रममा संघीय संसद् अभिशेख प्रताप शाह, नेपाली काँग्रेस लुम्बिनी संसदीय दलका नेता विरेन्द्र कुमार कनोडिया, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ्ग लगायतको उपस्थिति रहेको थियो ।