राष्ट्रिय |

निर्वाचनतर्फ काँग्रेस केन्द्रित

गोरखापत्र समाचारदाता

ललितपुर, चैत १७ गते । नेपाली काँग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने रणनीति बनाउन आन्तरिक गृहकार्य थालेको छ । काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ले घोषणापत्र तयार गर्ने, पार्टीका सबै समितिलाई क्रियाशील बनाउनेसहित स्थानीय तह निर्वाचन लक्षित रणनीति बनाउन आन्तरिक परामर्श थालेको हो ।

उक्त समितिले केन्द्रीय पदाधिकारी र सातै प्रदेशका पार्टी सभापतिसँग केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु गरेको छ । बैठकको सुरुमा उपसभापति खड्काले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई अधिकतम स्थानमा विजयी गराउन साङ्गठनिक संरचना प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नीति र कार्यक्रमलाई जनस्तरमा बुझाउन र बलियो जनाधर निर्माण गर्न पार्टीको केन्द्रीय कार्यसमितिदेखि वडा तहसम्मलाई अझै गतिशील बनाउनुपर्ने उहाँले बताउनुभयो ।

बैठकपछि सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र स्थानीय तहकै घोषणापत्र तयारी समितिलाई पूर्णता दिने विषयमा छलफल भएको बताउनुभयो । निर्वाचन परिचालन समितिलाई केन्द्रसँगै वडादेखि टोलसम्म पु¥याउने बताउँदै उहाँले यसअघिका निर्वाचनमा पार्टीको साङ्गठनिक संरचना परिचालनको अभ्यासका आधारमा नवीनतम ढाँचा निर्माण गर्ने उल्लेख गर्नुभयो ।

काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले चुनावमा गठबन्धनसँगै जाने कि काँग्रेसको मात्रै गर्ने भन्ने सन्दर्भमा छलफल भएको बताउनुभयो । उहाँले काँग्रेसको केन्द्रीय, प्रदेश, जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको संसदीय निर्वाचन बोर्डमार्फत चुनावी अभियानलाई तीव्र पार्न छलफल केन्द्रित भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “उम्मेदवारहरूलाई टिकट दिने आधार पनि बैठकले तय गर्नेछ । साथै मतभार के छ र सङ्गठनको अवस्था कस्तो छ भनेर पहिचान गर्ने र गठबन्धन गर्ने पार्टीहरूसँग लिने–दिने सन्दर्भमा पनि नीतिगत निर्णय गरिने छ ।” बैठकमा उपसभापतिद्वय खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू भीष्मराज आङ्देम्बे, बद्री पाण्डे, महालक्ष्मी उपाध्याय डिना, जीवन परियार, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरीसहित सातै प्रदेशका काँग्रेस सभापति सहभागी हुनुहुन्थ्यो । बैठक बिहीबार दिउँसो २ बजे पुनः बस्ने सहमहामन्त्री आङ्देम्बेले बताउनुभयो ।