नेपाल बारको निर्वाचन आज
गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १९ गते । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । निर्वाचनका लागि देशभरमा ३५ मतदान केन्द्र कायम गरिएका छन् । जसमध्ये उपत्यकामा चारवटा कायम छन् । २५ सदस्यीय कार्यसमितिका लागि ७५ उम्मेवार चुनावी मैदानमा छन् । तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार शनिबार बिहान ८ बजेदेखि मतदान हुनेछ । मतदान कार्य अपराह्न ४ बजेसम्म जारी रहनेछ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको मल्लले बताउनुभयो । बार निर्वाचनमा कुल नौ हजार ६०७ मतदाता छन् । जसमध्ये उपत्यकामा छ हजारभन्दा बढी छन् । उपत्यकाबाहिर तीन हजार हाराहारीमा मतदाता रहेका छन् ।
यो पटक निर्वाचनमा सत्तारूढ दलको गठबन्धनले बृहत् लोकतान्त्रिक समूह निर्माण गरेर वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा चुनावी मैदानमा छ । यस्तै प्रमुख प्रतिपक्ष दल निकटबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानल तयार भएको छ ।