राष्ट्रिय |

सिराहामा १७० वटा मतदान स्थल अति संवेदनशील

सन्तोष सुवेदी
सिराहा, चैत २५ गते । जिल्ला सुरक्षा समितिले सिराहाका १७० वटा मतदान स्थललाई अति संवेदनशील मतदान स्थलको सूचीमा राखेको छ ।

समितिले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी खतराको विश्लेषण र मूल्याङ्कनको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान स्थललाई तीन किसिमबाट वर्गीकरण गरेको हो ।

वर्गीकरणका लागि मतदान स्थलको भौतिक संरचना, सीमानाकासँगको निकटता, भौगोलिक अवस्था, प्रहरी कार्यालयदेखिको दूरी तथा सुरक्षा सतर्कतालाई जिल्ला सुरक्षा समितिले सूचकको रुपमा लिएको छ ।

कुल २२१ वटा मतदान स्थल रहेको सिराहाका ४६ वटा मतदान स्थल संवेदनशील तथा पाँच वटा मतदान स्थल सामान्य खालका छन् । सिराहामा नौ वटा नगरपालिका तथा आठ वटा गाउँपालिका गरी १७ वटा स्थानीय तहमा १६४ वटा वडा छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले अति संवेदनशील मतदान स्थलमा निर्वाचन हुनुभन्दा एक हप्ता अगाडि नै सुरक्षा सतर्कता बढाइने जानकारी दिनुभयो । मतदान केन्द्रहरुमा बाहिरी घेरामा नेपाली सेना, बीचको घेरा सशस्त्र प्रहरी बल तथा भित्री घेरामा नेपाल प्रहरीको टोली तैनाथ रहने योजना छ ।

यसका अतिरिक्त प्रत्येक नगरपालिकाको मतदान स्थल तथा मतदान केन्द्रका लागि प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको नेतृत्वमा थप तीन वटा मोबाइल टोली तथा प्रत्येक गाउँपालिकाको मतदान स्थल तथा मतदान केन्द्रका लागि थप दुई वटा मोबाइल टोली परिचालन गरिने भएको छ । प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार, शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि सिराहामा यसपालि दुई हजार ४६१ जना म्यादी प्रहरी भर्ना गरिएको छ भने प्रत्येक मतदान स्थलमा सुरक्षा संवेदनशीलतालाई विचार गरेर न्यूनतम पाँचदेखि १४ जनासम्म म्यादी प्रहरी परिचालन गरिनेछ ।