खुला |

नाम्खा गाउँपालिका अख्तियार उजुरीविहीन

राजन रावत

हुुम्ला, चैत २५ गते । अख्तियारमा विकासे काममा भएका अनियमितताविरुद्ध उजुरीका चाङ लागेका बेला जिल्लाको नाम्खा गाउँपालिका भने उजुरीविहीन भएको छ । गाउँपालिकाको कामका विरुद्ध परेको एउटा मात्र उजुरी  फर्छ्यौट भएपछि नाम्खा गाउँपालिका उजुरीविहीन भएको हो ।

अख्तियार दुुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रमुख भोला दाहालका अनुुसार हालसम्म नाम्खा गाउँपालिकाविरुद्ध एउटा मात्र उजुुरी परेको र त्यो पनि फर्छ्यौट भएका कारण अब उक्त गाउँपालिका उजुरीविहीन भएको हो । उहाँले कर्णालीका ७९ वटा स्थानीय तहमध्य अख्तियारमा उजुरी बिहीन गाउँपालिकामध्ये नाम्खा गाउँपालिका पनि एक भएको बताउनुभयो । जिल्लाका अन्य छ वटा गाउँपालिकाविरुद्ध भने उजुरी परेका छन् । उहाँका अनुसार सिमकोट गाउँपालिकाका चार वटा उजुरीमध्ये एउटा फर्छ्यौट भएको र तीन वटा अनुसन्धानका क्रममा छन् ।

त्यसैगरि, खार्पुनाथमा चार वटा उजुरीमा दुुई वटा फर्छ्यौट र दुई वटा बाँकी, सर्केगार्डका २२ वटामध्ये १४ वटा फर्छ्यौट र आठ वटा बाँकी, चङ्खेलीका सात वटामध्ये चार वटा फर्छ्यौट र तीन वटा बाँकी, अदानचुलीका १४ वटामध्ये छ वटा फर्छ्यौट र आठ वटा बाँकी र ताँजाकोटका सात वटामध्ये पाँच वटा फर्छ्यौट र दुई वटा अनुसन्धानका क्रममा छन् ।

यसरी, हुम्लाका सात वटै गाउँपालिकाका कामको विरुद्ध हालसम्म कार्यालयमा जम्मा ५९ परेकोमा ३३ वटा फर्छ्यौट भएको र २६ वटा अनुसन्धानका क्रममा रहेको कार्यालयले जनाएको छ । उहाँले अनुसन्धानका क्रममा बाँकी रहेका उजुरीमध्ये चार वटा गम्भीर प्रकृतिका भएको र त्यसको थप अध्ययनपछि विशेष अदालतमा मुद्दा दर्ताको तयारीमा रहेको बताउनुभयो ।