खुला | प्रदेश |

रौतहटको गरुडामा झडप, छ जना घाइते

कृष्ण तिवारी
रौतहट, भदौ १८ गते । रौतहटमा बिहीबार साँझ प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरी हिरासतमा रहेका विजय रामको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा जिल्लाको गरुडामा झडप भएको छ । साँझ ६ बजे इलाका प्रहरी कार्यालय गरुडाअगाडि भएको भडपमा छ जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा चार जना प्रहरी र दुई प्रदर्शनकारी महिला घाइते भएका छन् ।

गरुडा नगरपालिका ८ का निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका सोही ठाउँका विजय रामको प्रहरी हिरासतमा केही दिनअघि मात्रै मृत्यु भएको थियो ।
हिरासतमा प्रहरीले दिएको चरम यातनाका कारण रामको मृत्यु भएको भन्दै गरुडामा विगत केही दिनदेखि दिनहुँजसो आन्दोलन हुँदैआएको छ ।
प्रहरीको कुटपिटबाट रामको मृत्यु भएको भन्दै दोषी प्रहरीलाई कार्यबाही गर्न माग राख्दै पीडित परिवार र दलित समुदाय आन्दोलित भएका छन् । अहिलेसम्म शान्तिपूर्ण आन्दोलन हुँदैआएको अवस्थामा बिहीबार एकाएक आन्दोलन उग्र रुप लिएपछि दोहोराे झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुङ्गा हानेपछि प्रहरीले लाठी चार्ज गर्दा दोहोराे झडप भएको र स्थितिलाई नियन्त्रणमा लिन छ राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गर्नुपरेको रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभएको छ ।
घाइतेहरूको गरुडामा विभिन्न क्लिनिकमा उपचार भइरहेको र अहिले अवस्था सामान्य भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।