बाजुरा र स्याङ्जाबाट १३ जुवाडे पक्राउ
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २९ गते । स्याङ्जाको वालिङ नगरपालिका–८ कटौजेस्थित ३१ वर्षीय विवेक तिवारीले सञ्चालन गरेको प्रसाद होटलमा तास खेलिरहेको अवस्थामा तिवारी लगायत आठ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले नगद एक लाख ६६ हजार ८६९ रुपियाँ र २९४ पत्ती ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
बाजुरा, बडिमालिका नगरपालिका–९ मार्तडीस्थित गौमुल गाउँपालिका–५ बस्ने धनबहादुर रोकायाको होटल हिलटपमा तास खेलिरहेको अवस्थामा रोकायालगायत पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले एक गड्डी तास र नगद २७ हजार दुई सय रुपियाँसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान जनाएको छ ।