एजिङ नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २१ गते । नेपालमा ज्येष्ठ नागरिकको हकहित र आधारभूत सेवाका लागि काम गर्दै आएको एजिङ नेपालले २० हजार अमेरिकी डलर (करिब २३ लाख ३२ हजार रुपियाँ) राशिको अन्तर्राष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारीका अनुसार २० हजार अमेरिकी डलर राशिको सो पुरस्कार कृष्णमुरारी गौतम (चट्याङ मास्टर) अध्यक्ष रहेको एजिङ नेपालले प्राप्त गरेको छ । साथै कास्य पदक र सम्मान पत्र पनि रहेको छ । पुरस्कारको नाम ‘युनेस्को किङ सिजोङ साक्षरता पुरस्कार २०२०’ रहेको छ र यसको औपचारिक घोषणा भने मङ्गलबार हुने अधिकारीले स्पष्ट पार्नुुभयो ।