दुई थान बाघको छाला र नौ किलो हड्डीसहित दुई जना पक्राउ
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २२ गते । बझाङको बुङगल नगरपालिका–३ विजगडाबाट दुई थान बाघको छाला र करिब नौ किलो हड्डीसहित दुईजनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय वीरेन्द्र बोहरा रहेका छन् । सुदुरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरूलाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।