खुला |

ट्रकमा लुकाएर भारततर्फ लाँदै गरेको तीन सय नौ किलो गाँजा बरामद

जनार्जन खत्री

सर्लाही, भदौ २८ गते । सर्लाही प्रहरीले ट्रकमा लुकाएर भारततर्फ लाँदै गरिएको तीन सय नौ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्लाको पूर्वी भेगको ग्रामीण सडक हुँदै ना ४ ख ७७४८ नं. को १० चक्के ट्रकमा लैजाँदै गरिएको गाँजा बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । ग्रामीण सडक हुँदै नेपाल–भारत दुवैतर्फ लागूऔषध ओसारपसार हुने गरेको सूचना पाएर एसपी राठौरकै नेतृत्वमा अनुगमनका लागि खटिएको प्रहरी टोलीले शनिवार राती ९ बजेतिर ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

पर्सा गाउँपालिका–५, डोमोवा टोलस्थित चिरान मिल अगाडि एकान्त स्थानमा सवारी साधन र मानिसहरुलाई चेकजाँच गर्ने क्रममा गाँजा लोड गरिएको ट्रकका चालक प्रहरीलाई देख्नासाथ स्टार्ट अवस्थामै ट्रक छाडेर फरार भएका थिए । तत्कालै ट्रकमा खानतलासी गर्दा ढालाभित्र लुकाएर राखिएको नौ वटा पोकामा ३१ किलोका दरले २७९ किलो र दुई वटा पोकामा १५ किलोका दरले ३० किलो गरी जम्मा ३०९ किलो गाँजा बरामद भएको एसपी राठौरले बताउनुभयो ।

फरार ट्रकका चालक र गाँजा ओसारपसारमा संलग्नहरुको खोजी तथा अन्य अनुसन्धानको काम भइरहेको सर्लाही प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमणले गर्दा नेपाल–भारत सीमा नाका बन्द हुँदा समेत लागूऔषधको ओसारपसार भइरहेको गुनासो बढेपछि आफू जिल्लामा आएदेखि नै कडाईका साथ निगरानी गर्न सबै मातहतका युनिटहरुलाई निर्देशन दिएको एसपी राठौरले बताउनुभयो ।