हाेलेरी बजारमा निषेधाज्ञा
विमलराज डाँगी
रोल्पा, भदौ २८ गते । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि रोल्पाको होलेरी बजार अर्काे सूचना नआउनञ्जेल सम्मको लागि निषेधाज्ञा गरिएको छ । शनिबार एक जना बैंक कर्मचारी, एक जना प्रहरी, एक जना स्थानीय व्यापारी र पाँच जना क्वारेन्टिनमा गरी आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) आकस्मिक बैठक बसी अर्काे सूचना नआउनञ्जेल सम्मको लागि रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ होलेरी बजारमा निषेधाज्ञा गरिएको हो ।
होलेरीमा शनिबार आठजनामा कोरोना भाइरस संक्रमण देखिएपछि समुदायस्तरमा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आइतबारदेखि लागू हुनेगरी होलेरी बजारमा निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र राणाले बताउनुभएको छ ।
सिल गरिएको होलेरी बजारमा अत्यावश्यक सेवा बाहेक सबै व्यापार व्यवसाय एवं पसलहरू बन्द हुनेछन् । अत्यावश्यक सेवा बाहेक सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाइएको छ । संक्रमित आठ जनालाई शनिबार नै रोल्पाको सदरमुकामस्थिति अस्थाई आइसोलेसन केन्द्रमा पठाइसकेको समेत अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो । यससँगै रोल्पामा कोरोना संंक्रमितको संख्या ११ जना पुगेको छ ।