खुला |

नागरिक सचेत बन्नुुको रहेन विकल्प

नगेन्द्र सापकोटा

काठमाडौँ, असोज १९ गते । काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नागरिक आफैंँ सचेत बन्नुको विकल्प नभएको बताएका छन् । बन्दाबन्दी मात्र कोरोना रोकथाम र नियन्त्रणको उपाय नभएकाले नागरिक आफैंँले सचेतना अपनाउनुको विकल्प नभएको उहाँहरूको भनाइ छ ।
‘सङ्घीय सरकारले बन्दाबन्दीको समयमा उपत्यकाका विभिन्न स्थानमा पर्याप्त मात्रामा क्वारेन्टाइन निर्माण गर्न सकेको भए अहिलेको स्थित आउँदैन थियो, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) भन्नुभयो– “कमी–कमजोरीका कारण उपत्यकामा अहिले कोरोना ‘हर्टस्पर्ट’ बनेको हो ।”

काठमाडौँमा अब कुन घरमा को कहाँबाट आउँछन् सोको स्पष्ट लेखाजोखा राख्न कठिन भइसकेको भन्दै उहाँले महानगरपालिका कार्यपालिकाको बैठक नबसेकै करिब तीन महिना पुग्न लाग्यो, नियमित बैठक बसेर नीतिगत निर्णय गर्न सकेको भए रोकथामका लागि थप केही काम गर्न सकिन्थ्यो भन्नुभयो ।
ललितपुर महानगरका उपप्रमुख गीता सत्यालले नागरिक आफैँं सचेत हुने, भौतिकदूरी कायम गर्ने र अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने केही हदसम्म उपत्यकामा कोरोना कम हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, उपत्यकालाई कोरोनाको रेड जोन मान्दै चक्रपथभित्र एउटा मापदण्ड र चक्रपथ बाहिर अर्कै मापदण्ड अपनाएर जान सकियो भने केही हदसम्म उपत्यकामा कोरोना कम गर्न सकिन्छ ।

कोरोना हाउगुजी होइन
उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनालाई हाउगुजी नसम्झन सर्वसाधारणलाई आग्रह गर्नुभयो । कतिपय नागरिकले कोरोनालाई हाउगुजी र हेलचेक्र्याइँ गरेकाले कोरोना व्यापक रूपमा फैलिएको हो उहाँले भन्नुभयो, नागरिक आफैँले कोरोना केही होइन भनेर लापरबाही गरिरहेका छन्, त्यसमा हामी आफैँ सचेत र सतर्क रहनुपर्छ ।
नागरिक आफैँं सचेत नहुने हो भने उपत्यकामा कोरोना सङ्क्रमणको दर अझ बढ्न सक्ने भएकाले कोरोनालाई हेलचेक्र्याइँ र हाउगुजीका रूपमा नसम्झन उहाँले उपत्यकावासीलाई आग्रह गर्नुभयो ।