खुला |

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जना पक्राउ

नागेन्द्र कर्ण
जलेश्वर, कात्तिक ७ गते । प्रहरी भनि सर्वसाधारणसँग ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
‘प्रहरी हुँ’ भनेर सर्वसाधारणसँग जवरजस्ती रकम तथा मोबाइल लिई रहेको सूचनाको आधारमा मटिहानी प्रहरी चौकीबाट खटेका प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा जिल्लाको मनरासिश्वा नगरपालिका वडा नं. २ बस्ने वर्ष ३६ को प्रकाश कुमार सिंह र धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ४ बस्ने वर्ष ३७ को सन्दिप कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
मटिहानी नगरपालिका वडानं. ८ बाट दुवैलाई पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिनुहुदै प्रहरी नायव उपरिक्षक विष्टले भन्नुभयो,‘पक्राउ गरिएका उनीहरुको साथबाट मोबाइल र पाँच हजार नगद बरामद भएको छ ।’
स्थानीयबासीहरुले प्रहरी भन्दै आफुहरुको सैमसंगको मोबाइल र पाँच हजार नगद लिएको जानकारी गराएपछि चेकजाँच गर्दा उनीहरुबाट सो बरामद भएको थियो ।