खुला | समाज |

कहिले सुधार होला सातदोबाटो गोदावरी सडक ?   

ललितपुर, कात्तिक २० गते। गोदावरीका राजु विष्ट दैनिक घर कार्यालय आवतजावत गर्नुहुन्छ । उहाँले दैनिक यसरी आवतजावत गर्दा पानी गर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे र खाल्डाखुल्डी सडकको निकै सामना गर्नुपरिरहेको छ । कोरोनाको जोखिम बढ्दो छ । सडकको अवस्थाले उहाँलाई घरबाट बाहिर निस्कन दिक्क लाग्छ ।    
    
यसैगरी गोदावरी वडा नं ४ बडिखेलका पुरुषोतम आचार्य पनि दैनिक घर र कार्यालय गर्नुहुन्छ । उहाँले पनि सोही सडकखण्ड भएर यात्रा गर्नुपर्ने हुन्छ । अर्काे मार्ग अपनाएर हिँड्दा लामो दूरी पार गर्नुपर्ने भएकाले उहाँ सधै यसै सडकको प्रयोग गर्न बाध्य हुनुभएको छ । आफ्नै साधन प्रयोग गरेर हिँड्दा समेत सडकमा खाल्डाखुल्डी भएका कारण धैरै पटक आफू चिप्लिएर लडेको उहाँले बताउनुभयो । “कति पटक हिलाम्मे सडकमा लडिसकेँ । कुनै दिन यस्तै गरी चिप्लिएर अन्य सवारीसाधनसँग ठोकिएर ठुलो दुर्घटनामा परिएला भन्ने डर लागिरहन्छ ।”     
    
उहाँले सातदोवाटोदेखि बडिखेल आउन लगभग ११ किलोमिटर सडक पार गर्नुपर्छ । सो सडक अस्तव्यस्तताका कारण यती दूरीको यात्रा छिचोलेर हिड्न पनि उहाँलाई समस्या भइरहेको छ । लामो सयम सडक जाममा परेका बेला सुस्केरा हाल्दै उहाँले प्रश्न गर्नुभयो,“खोइ, कहिले बन्ला यो सडक ? ।”    
त्यसैगरी वडा नं १४ बाडेगाउँका गोविन्द महर्जन पनि यस सडक पार गरेर दैनिक आफ्नो व्यवसाय सम्हाल्न हिँड्नुहुन्छ । पाका उमेरका उहाँलाई समय समयमा औषधिउपचार लगायत काममा खटिरहनुपर्ने कारण दुईपाङ्ग्रे सवारी चढ्दा धुलोले श्वास फेर्न गाह्राे हुने त चारपाङ्ग्रे सवारी चढ्दा खाल्डाखुल्डीका कारण सडकमा उफ्रिएर पेटको लाम्टानै चुँड्डेला जस्तो भएर कयौँ दिन ओच्छान पर्ने गरेको दुःखेसो गर्नुभयो । उहाँहरु त यस सडक खण्ड यात्रा गर्ने एक प्रतिनिधि पात्र मात्रै हुन ।

उहाँहरु जस्तै अन्य मानिसले हरेक दिन यस सडक भएर खाल्डाखुल्डी, हिलो र जामको सामना गर्दै हिड्न बाध्य भइरहेका छन् । ती सङ्ख्याका यात्रीमा केहीमा दीर्घरोग त कोही गर्भवती अनि केही सुत्केरी समेत हुने हुँदा यस्तो अवस्थामा यस्तो सडकमा कसरी उफ्रिएर हिँड्न बाध्य भएका होलान ? यो कुरा कल्पना पनि गर्न सकिँदैन ।    

सातदोवाटोदेखि हात्तिवनसम्मको सडक यात्रा गर्न खासै छैन । हात्तिवनमाथि हरिसिद्धिदेखि गोदावरीसम्मकै सडक पार गर्न कठीन  छ । गत असोज १५ गतेदेखि यथाअवस्थामा सडक कालोपत्र गर्ने भनिएर हरिसिद्धिको मुल सडक निर्माणको काम भइरहेको छ । सो सडकमा ढल निकास र नाली व्यवस्थापनको काम भइरहँदा यसले समेत यात्रीलाई हिलो र धुलोको समस्या बढाइरहेको छ ।

सो क्षेत्रमा ढल खनेर पाइप विच्छाउने र मंगाल बनाउने काय जारी रहँदा यो कहिले सकिन्छ भन्ने यकिन गर्न नसकिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एकतर्फ यी काम अघि बढाइरहेका छाँै भने अर्काेतर्फ दिनभरि यात्रा गर्ने सवारी साधनले आउने र जाने क्रम काम ढिलाइ भइरहेको छ । ”    
    
सडकमा ढल खनेर पाइप राख्ने र मंगाल हाल्ने काम भइरहदा हिलोको कारण कयौँ यात्री लड्नुका साथै सवारीसाधन पनि हिलोमा फसेर निकाल्नु परिरहेको उहाँको भनइ छ । मंगाल बनाउन खनिएको प्वालमा आज बिहानमात्रै एक सवारीसाधन फसेर झिकेको बताइएको छ ।

हाल निर्माणाधीन सो सडकको काम समाप्त गर्न अझै एक महिना समय लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन सडकमा रोडा हाल्दा हिलो माथी माथी आएर साना गाडीको तुलनामा ठुलालाई यात्रा गर्न कठिन भइरहेको छ । ढल निकासको काम बेलुका गर्न नमिल्ने र उज्यालोमा नै गर्नुपर्ने सम्बन्धित व्यक्तिको भनाइ छ ।     यसका साथै ठैव, बाडेगाउँ, टौखेल हुँदै गोदावरीसम्म पुग्न चार वर्ष अघिदेखि यहाँका यात्रीलाई कठिनाइ भइरहेको छ । सातदोवाटो गोदावरी क्षेत्र चल्ने सावरीसाधनका साथै यस भेगमा रहेका घरहरु पनि आजभोेली सडकका कारण हिलो र धुलोले हेर्न नहुने भइरहेका देखिन्छन् । सो क्षेत्रको सडक कहिले मर्मत, सुधार र कालोपत्र हुन्छ भन्ने कुराको जानकारी कसैलाई पनि छैन ।