खुला |

बाग्मती सफाइ महाअभियानको ३९५औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ

काठमाडौँ, मङ्सिर २० गते। बाग्मती सफाइ महाअभियानको ३९५औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपतिक्षेत्रमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको हो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, गङ्गा पुरीलगायत अभियानकर्मीको सहभागिता थियो ।    
    
 अधिकारसम्पन्न बाग्मतीले आगामी पुस २५ गते ४००औँ हप्ताको सफाइ अभियानलाई विशेष बनाउन खरेलकै संयोजकत्वमा समितिसमेत गठन गरेको छ । शङ्खमूल क्षेत्रको सफाइमा स्कुटरमा आई नदीमा फोहर फाल्नेलाई समाती टिपेर व्यवस्थापन गर्न लगाइएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिनुभयो ।    
    
 त्यस क्षेत्रमा प्रत्येक दिन बिहान १० मिनेट कुचो लगाएर सफाइ गर्ने सहमति भएको छ । कुचो लगाउने काममा विभिन्न विद्यालयका विद्यार्थीले समेत स्वयंसेवीका रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।    
    
 यसैगरी शङ्खमूलबाट बानेश्वर निस्कने मूल सडकमा पनि सफाइ गरिएको छ । त्यस क्षेत्रका घर पसलमा गई जनचेतनामूलक अभियानसमेत सो अवसरमा सञ्चालन गरिएको थियो । शङ्खमूलमा माइक्रो पार्कमा फोहर नगर्न र माइक्रोभित्र डष्टविन राख्न पनि जागरणमूलक अभियान चलाइएको थियो । बङ्गलामुखी जाने बाटोमा गत वर्ष राखिएको गमला फुटालेर त्यहाँ फेरि फोहर गरिएकाले सफाइ गरिएको छ । सफाइमा पोखरार्की आठ वर्षीय प्रेन्सा रेग्मीसमेत सहभागी भएको अभियानकर्मी पौडेलले बताउनुभयो ।    
    
 गुह्येश्वरीमाथिको बाग्मती सफाइ अभियानको ३५५औँ हप्तामा गोकर्णेश्वर नगरपालिकाको हनुमान बाटिकास्थित नदी किनारमा सफाइ गरिएको छ । सफाइमा कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।     
    
 सफाइमा अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजसमेत सहभागी भएको थियो । विगत आठ वर्षदेखि मुहानदेखि नै बाग्मती सफाइ गर्ने नाराका साथ गुह्येश्वरीमाथिको नदीमा विभिन्न गतिविधि हुँदै आएको छ । सफाइमा अपाङ्ग मानव अधिकार केन्द्र, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदीसहित स्थानीयवासीको पनि सहभागिता थियो ।    
    
 विष्णुमती सफाइ अभियानकमो ३२४औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं १७ स्थित खुसीबुँ क्षेत्रमा सफाइ गरिएको छ । खुसीबुँ पुलबाट शोभा भगवतीसम्मको नदी किनारमा जनचेतनामूलक अभियानसहित सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो । सफाइमा विश् शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत संस्था र स्थानीयवासी गरी ६० भन्दा बढीको सहभागिता थियो ।    
    
बाग्मतीको तिलगङ्गा खण्ड सफाइको २७६औँ हप्तामा तिलगङ्गा आँखा प्रतिष्ठानअघिको नदी किनारमा सफाइ गरिएको छ । कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिनुभयो ।    
    
 मनोहरा सफाइ अभियानको १९४औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित मनोहरा कृषि बजार जडीबुटी क्षेत्रमा सफाइ गरिएको छ । मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा भएको सफाइमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनुभयो ।    
    
 ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९२औँ हप्तामा नदीका विभिन्न क्षेत्रमा भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथका उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।    
    
 विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको बाग्मती सफाइ आगामी पुस २५ गते ४०० हप्तामा प्रवेश गर्दैछ । ४०० औँ हप्तामा विविध कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । महाअभियान शुरु भएपछि वाग्मतीका सहायक नदी, उपत्यकाका चक्रपथलगायत देशका १०६ भन्दा बढी स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएका छन् ।    
    
 कोरोना महामारीका कारण गत चैतदेखि भने नदी किनार निवास भएका अभियानकर्मीमात्र भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइमा सहभागिता जनाउँदै आएका छन् ।