होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु
बेलिना थापा
लमजुङ, मङ्सिर २१ गते । होम आइसोलेसनमा रहेकी लमजुङकी एक कोरोना संक्रमित महिलाको निधन भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएर होम आइसोलेसनमा रहेकी बेंसीसहर नगरपालिका ११ की ४३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासनले जनाएको छ । मङ्सिर ९ गते कोरोना संक्रमण पुष्टि भएकी महिलाको शनिबार घरमै मृत्यु भएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।
उहाँका अनुसार महिलामा केही समयदेखि मधुमेहको समस्या थियो । स्वास्थ्य समस्या आएपछि गण्डकी मेडिकल कलेज पोखरामा स्वास्थ्य जाँचका लागि लगिएकोमा कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि घरमै ल्याएर होम आइसोलेसनमा राखिएको थियो । वडाध्यक्ष अच्युतबाबु बगालेका अनुसार खुट्टाको पैतालामा घाउ भएर बसेकी ती महिलाको गण्डकी मेडिकल कलेज पोखरामा स्वास्थ्य जाँचका लागि लगिएको थियो । मंसिर ८ गते लगिएकोमा मंसिर ९ गते कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन घरमा ल्याइएको थियो । होम आइसोलेसनमा रहेकी महिलाको पैतालामा कीराको संक्रमण बढेपछि मंसिर १४ गते पुनः अस्पताल पठाउन खोज्दा परिवारले घरमै फर्काएर ल्याएको थियो । घरमा बसिरहेकी महिलाको शनिबार निधन भएको वडाध्यक्ष बगालेले बताउनुभयो ।
संक्रमितको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पनि उपचारका लागि अस्पताल नलगिएको आफन्तले बताएका छन् । उनका श्रीमान् भारतमा कामको लागि गएर फर्किएको बुझिएको छ । संक्रमित महिलाका श्रीमान्, एक छोरा र एक छोरी छन् । बाँकी परिवारका सदस्यको पनि कोरोना परीक्षण गरिने प्रशासनले जनाएको छ । यसअघि लमजुङमा सात जनाको मृत्यु भइसकेको छ । योसँगै लमजुङका कोरोना संक्रमित आठ जनाको मृत्यु भएको छ । जिल्लाभित्र तीन जना र पाँच जनाको जिल्ला बाहिर मृत्यु भएको प्रशासनले जनाएको छ ।