खुला |

टोल विकास संस्थाको गृहकार्य

नगेन्द्र सापकोटा

काठमाडौँ, मङ्सिर २४ गते । स्थानीय तहको विकास निर्माणका काममा प्रत्यक्ष अनुगमन, समन्वय, सहयोगी र साझेदारी गर्न अब प्रत्येक टोलमा टोल विकास संस्था गठन गरिनेभएको छ । स्थानीय तहका जनप्रतिनिधिले प्रत्यक्ष निगरानी र समन्वय गर्नेगरी स्थानीय तहको विकासमा सहयोगी भूमिका निर्वाह गर्न स्थानीय पालिकामा टोल विकास संस्था गठन गर्न लागिएको हो ।
समाजमा विकास निर्माण र सुशासन स्थापित गर्ने कार्यमा टोल विकास संस्थाको महìवपूर्ण भूमिका हुने भएकाले टोल तथा बस्ती स्तरदेखि नै विकासमा नागरिकको सहभागिता सुनिश्चित गर्न टोल विकास संस्थाको अवधारणा अगाडि सारिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
स्थानीय तहका जनप्रतिनिधिलाई सहयोग गर्नेगरी स्थानीय तहको विकासमा नागरिकको सहभागिता सुनिश्चित गर्न टोल विकास संस्था गठन तथा परिचालन नमुना कार्यविधि निर्माण गरिएको हो । मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले टोल विकास संस्था जनप्रतिनिधिलाई सहयोगी बन्दै नागरिक र जनप्रतिनिधिबीच पुलको काम गर्छ भन्नुभयो । अहिले पनि कतिपय टोलमा टोल विकास संस्था छन् तर ती संस्था अब बन्ने कार्यविधिमा आधारित जस्तो नभई
गैरसरकारी संस्थाको रूपमा क्रियाशील छन् ।
समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा सबै पक्षमा दीगोपन र अपनत्व सिर्जना गर्न टोल विकास संस्था वडा कार्यालयको सहयोगी संस्थाका रूपमा काम गर्ने गरी गठन गर्न लागिएको हो । गाउँ र नगरपालिकाको टोलको आम भेलाबाट टोल तथा बस्ती भित्रको घरधुरी समावेश गरी टोल विकास संस्था गठन गर्नुपर्ने टोल विकास संस्था गठन तथा परिचालन नमुना कार्यविधिमा उल्लेख छ ।