खुला | समाज |

हेलिकप्टरको उद्धारबाट बच्यो सुत्केरीको ज्यान 

बेलिना थापा
लमजुङ, मङ्सिर ३० गते । लमजुङको विकट दूधपोखरी गाउँपालिका २ भुम्लीचोककी एक गर्भवती महिलाको सरकारी हेलिकप्टर उद्धार कार्यक्रममार्फत ज्यान बचाइएको छ ।
व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउने प्रयास गरिँदा पनि नसकेपछि भुल्मीचोककी ३६ वर्षीया खुशीमाया घलेलाई हेलिकप्टरमार्फत् उद्धार गरेर पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको हो । दूधपोखरी २, बिचौर घर भएका गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीका अनुसार सुत्केरी व्यथाले च्यापेको र गाउँमा सुत्केरी गराउन असमर्थ रहेको जानकारीपछि सामाजिक विकास मन्त्रालयमा हेलिकप्टरका लागि पहल गरिएको थियो ।
‘बिचौरबाट बेंसीसहर पु¥याउन ६/७ घण्टा लाग्ने । तत्काल गाडी नपाउने । गाडी पाएपनि कच्ची सडकमा लैजान डर होला भनी मन्त्रालयमा हेलिकप्टर भन्यौं’ उहाँले भन्नुभयो, ‘हेलिकप्टरले उद्धार गरेर पोखरा लगेपछि खुशीमायाले छोरा जन्माउनुभएको छ । आमा र बच्चा दुवैलाई बचाउन सफल भयौं । अहिले स्वास्थ्य पनि सामान्य छ भन्ने जानकारी पाएको छु ।’ वडाध्यक्ष गोविन्द दवाडीले सुत्केरी व्यथाले च्याप्दै गएको र गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य कार्यालय र प्रशासनमा खबर गरिएको बताउनुभयो । दूधपोखरी क्षेत्रबाट पहिलो पटक सामाजिक विकास मन्त्रालयको सहयोगमा गर्भवती महिलाको उद्धार भएको उहाँले बताउनुभयो ।
आइतबार विहानदेखि सुत्केरी व्यथा लागेकी महिलाको सोमबार विहान पौने ९ बजेतिर उद्दार भएको विचौर स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट प्रमिता गुरुङले बताउनुभयो । उहाँका अनुसार खुशीमाया घलेलाई आइतबार विहानदेखि सुत्केरी व्यथा लागेको र आइतबार दिउँसो २ बजेतिर स्वास्थ्यचौकी ल्याइएको थियो । भोलिपल्ट बिहान ६ बजेतिर पानीको फोका फुटेपछि सुत्केरी गराउन नसक्ने अवस्थामा रहेकाले तत्काल उद्दारका लागि जनप्रतिनिधि, सांसदलाई गरिएको थियो । गर्भवती अवस्थामा भिडियो एक्सरे नगरेका कारण बच्चाको अवस्था कस्तो छ भन्ने समेत जानकारी नभएकाले रिफर गरिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै जिल्लाका अप्ठ्यारा परेका सुत्केरी महिलाको उद्दार गर्दै आएको छ । गर्भवती महिलाको स्वास्थ्यमा समस्या आएको बेला आमाको ज्यान बचाउन जुनसुकै बेला मन्त्रालयले एयर लिफ्टिङ कार्यक्रम अन्तर्गत हेलिकप्टर पठाएर उद्धार गर्ने गरिएको मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षमा मात्रै १० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत् उद्धार गरी ज्यान बचाएको छ ।

३६ वर्षीया खुशीमाया घलेलाई सामाजिक मन्त्रालयको सहयोगमा हेलिकप्टरमार्फत उद्धार गरिँदै । तस्बिरः लमजुङ समाचारदाता ।