खुला | समाज |

राउटेलाई प्रदेश सरकारका तर्फबाट दुई हजार भत्ता थप


ललित बसेल
सुर्खेत, पुस ७ गते । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा घुमन्ते जीवन बिताउने राउटे समुदायलाई कर्णाली प्रदेश सरकारले दुई हजार रुपियाँ भत्ता दिने निर्णय गरेको छ । यसअघि संघीय सरकारबाट मासिक तीन हजार लोपोन्मुख भत्ता पाउने उनीहरुले अब प्रदेश सरकारले थप गरेको दुई हजारसहित मासिक पाँच हजार भत्ता पाउनेछन् ।
कर्णाली प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद बैठकले लोपोन्मुख राउटे जातिको संरक्षण र संवद्र्धन गर्न प्रतिव्यक्ति मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले राउटेलाई मासिक दुई हजार रकम भत्ता दिन आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई बजेट हस्तान्तरण गर्न र सो गाउँपालिकालाई नियमानुसार वितरण गर्न भनिएको बताउनुभयो ।
राउटेलाई गुराँस गाउँपालिकाले परिचयपत्र दिएर नियमित रुपमा भत्ता उपलव्ध गराउँदै आएको छ । मन्त्री केसीले प्रदेश सरकारले गरेको सहयोगबाट राउटेहरुको संरक्षण एवं संवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । राउटे विशेषगरी सुर्खेत, दैलेख, सल्यान जिल्लामा बसाईं सर्दै बस्ने गरेका छन् । गुराँस गाउँपालिकाका अनुसार अहिले राउटेको संख्या १४५ जना रहेको छ ।
गत तिहार अघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे बस्तीमै पुगेर प्रदेश सरकारका तर्फबाट दुई हजार भत्ता थप गर्ने घोषणा गर्नुभएको थियो । राउटेले पनि प्रदेश सरकारले घोषणा गरेको थप भत्ता नपाएको भन्दै छिटो उपलव्ध गराउन माग गर्दै आएका थिए ।
यसैगरी, बैठकमा खाद्यान्न खरिदको खर्च शीर्षकबाट बिनियोजित भएको रकममध्येबाट १५ करोड र कोभिड शिक्षातर्फको खर्च शीर्षकबाट बिनियोजित रकम १० करोड बजेट क्रमागत योजनाहरुका लागि रकमान्तर गर्ने, शान्ति तथा पुनस्र्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृति प्रदान गर्ने, सहकारी संस्थामार्फत व्याज अनुदान कार्यविधि २०७७ लाई स्वीकृति प्रदान गर्ने, द्वन्द्वपीडित घाइते अपांग उपचार राहत खर्च कार्यविधि २०७७ लाई स्वीकृति प्रदान गर्ने र मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम संचालन कार्यविधि २०७७ लाई स्वीकृति गर्ने निर्णय भएको प्रवक्ता एवं मन्त्री केसीले जानकारी दिनुभयो ।
यसैगरी, मन्त्रिपरिषद बैठकले सुर्खेतका प्रमोद हमाललाई खेलकुद परिषदको उपाध्यक्षमा मनोनयन गरेको छ । साथै हुम्लाका टक्कबहादुर शाही, जुम्लाका सरोज शाही, सल्यानका भुमाकुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती र दैलेखका हेमा खड्कालाई परिषदको सदस्य तथा सदस्य सचिवमा कालीकोटका विश्वमित्र संज्याललाई मनोनयन गरिएको छ ।