गाभीले छिट्टै खोप आउन सक्छ तयार बस भनेको छ मिति टुङ्गो छैन
केशवराज पौडेल
काठमाडौं, पुस १२ गते । विश्वका धेरै देशमा खोपमा काम गरिरहेका विश्व स्वास्थ्य संगठन, युनिसेफ र गाभीले कोरोनाको खोपमा सबैको पहुँच होस् भन्ने हेतुले विश्वव्यापी रुपमा काम गरिरहेका छन् । नेपालमा समेत विभिन्न खोप अभियानमा साथ दिइरहेका उनीहरुले कोरोनाको खोपमा समेत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता अनुसार काम गरिरहेका छन् ।
नेपालसँग सहकार्य गर्दै विभिन्न खोपका कार्यक्रमहरुमा सहयोगी ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) गाभीले छिट्टै कोरोनाको खोप नेपालमा आउन सक्ने भएकाले तयारी अवस्थामा बस्न नेपाल सरकारलाई जानकारी गराएका छन् ।
विश्वमा खोप बन्ने चरणहरु सुरु भएसँगै गाभीले नेपाललाई तयारी अवस्थामा रहन सन्देश गरेको हो । नेपाल सरकारले नेपालमा प्रदान गरिने विभिन्न खोपमा गाभीसँग सहकार्य गरेर काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले बताउनुभयो ।
अहिलेको भएको तयारीलाई हेर्दा आगामी मार्चसम्ममा कोभ्याक्सले खोप उपलब्ध गराउन सक्ने समाचार आइरहेको समयमा गाभीले नेपाललाई तयारी अवस्थामा रहन अनुरोध गरेसँगै नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक लिएर अघि बढेको छ ।
खोपको भण्डारण, ओसारपसारलगायत अन्य तयारीमा रहनका गाभीले नेपाल सरकारलाई जानकारी गराएको हो । ‘यद्यपि यो पहिलो भने हैन,गाभी, कोभ्याक्सले निरन्तर रुपमा खोपमा भैरहेको प्रगतिको बारेमा आफूले खोप उपलब्ध गराउने राष्ट्रहरुलाई जानकारी गराउने गर्दछ’प्रवक्ता अधिकारीले भन्नुभयो ।
उहाँले अहिले नै कोरोनाको खोप आउँछ भनेर मिति तोक्न नसकिने बताउनुभयो । ‘खोप छिट्टै आउँछ त्यसका लागि हामीले तयारी गरिरहेका छौ, अधिकारीले भन्नुभयो ।
विश्वमा नेपाल जस्तै मुलुकमा कोभ्याक्स र गाभीले नयाँ बर्षको तीन महिनामा खोप आउन सक्ने सूचना आएकाले त्यसको तयारीमा आफूहरु सुुरुदेखि नै लागेको प्रवक्ता अधिकारीले भन्नुभयो । उहाँले ठ्याक्कै यति समयमा आउने र कति मात्रामा खोपको भाइल आउने बारेमा जानकारी नगराएको स्पष्ट पार्नुभयो । सुरुदेखि नै हामीलाई तयारी अवस्थामा बस्नु भनेर गाभीले भन्दै आएको छ ।
कोभ्याक्सले विश्वको अति कमजोर र मध्यम अर्थव्यवस्था भएका ९२ मुलुकलाई १३० करोड खोप उपलब्ध गराउने योजना अघि सारेको छ । कोभ्याक्सले १ सय ९० राष्ट्रको अनुरोधमा खोप बनाउने कम्पनीसँग सम्झौता गरेको र अक्सफोर्ड–अस्ट्राजेनिकाद्वारा बनाइएको २० करोड खोप किन्ने अन्तिम तयारीमा छ । उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ । जसबाट नेपाल जस्ता कमजोर आर्थिक अवस्था भएका देशहरुले फाइदा लिन सक्नेछन् ।
विश्व स्वास्थ्य संगठन युनिसेफ र गाभी मिलेर विश्वका कमजोर आर्थिक अवस्था भएका देशहरुमा समेत समानुपातिक रुपमा खोप पाउने प्रणालीमा काम गरिरहेका छन् ।
सातै प्रदेशमा कोल्ड चेन भण्डार
नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी छ । आठ करोडको लगानीमा नेपाल सरकारले सात वटा प्रदेशमा कोल्ड चेन भण्डारणको निर्माणको काम गरिरहेको छ ।
‘खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने ,खोपको पर्याप्त उपलब्धता हुनुपर्ने नेपालका लागि उपयुक्त कोल्ड चेन भण्डारणको र कम लागतको खोप नेपालले पर्खिरहेको छ’ कोभिड खोपबारे अध्ययन गरी रहनुभएका माइक्रोबायोलजिष्ट डा. प्रकाश घिमिरेले भन्नुभयो ।
यो मापदण्डको खोप अहिले विश्व बजारमा नआइसकेको कारण खोप खरिद प्रक्रिया अघि नबढाइएको यद्दपी कोरोना खोप छिटो भित्राउन तीब्र प्रतीक्षामा सरकार रहेको खोप माहाशाखाका प्रमुख डा.झलक गौतमले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
खोप माहाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ । नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्ने गरी खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ ।
नेपालमा प्रयोग भएका खोपहरु २ देखि ८ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको डा. शर्माले भन्नुभयो । नेपाल सरकारले नेपालीले किन्न सक्ने, भण्डारण गर्न सक्ने खालको खोप दिन अनुरोध गरेको छ । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ ।
भारत र चीनमा बनेका उपयुक्र्त हुन सक्छन्
अहिले भारतमा बेलायतसँग मिलेर एउटा कम्पनी र भारत एक्लैले एउटा कम्पनीसँग मिलेर कोरोनाको खोप बनाउँदैछ । यो खोपले समेत तेस्रो चरण पार गरेका छन् । चीनका चारवटा कम्पनीहरुले खोप बनाइरहेका छन् । अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च अप्रिलसम्म आइपुग्न सक्छन् ।
हाल विश्व बजारमा आएका खोप महँगो र भण्डारणमा पनि खर्चिलो छ । त्यसैले नेपालले छिट्टै खोप भित्र्याउन नसक्ने हो कि भन्ने शंका उत्पन्न भएको छ । खोप ल्याउने तयारीमा जुटेका खोप विज्ञ भने चार महिना भित्र नेपालले खोप भित्र्याउने बताउछन् ।नेपालको भौगोलिक अवस्था सुहाँउदो र नेपालको आर्थिक भारले धान्न सक्ने खालको खोप आएपछि नेपालमा खोप भित्रने डा.घिमिरेले भन्नुभयो । नेपालमा भारत र चीनमा बनेका र अरु देशमा बनेका २ देखि ८ डिग्री सेल्सियसको खोप उपयुर्त हुने भएकाले नेपालमा सोही खोपको कुरा भैरहेको हुन सक्ने उहाँले बताउनुभयो । नेपालले कुरा गरिरहेको भन्ने सुनेकाले तीन महिनाभित्र खोप आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । नेपालको लागि सुहाउँदो खोपले लाइसेन्स पाउने बित्तिकै नेपालमा कोरोना खोप भित्रिने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ । नेपालमा आउने कोरोनाविरुद्वको खोपको ४ मापदण्ड हुनुपर्ने तय गरिएको छ ।