वन संरक्षण उत्कृष्टः ६८ प्रतिशत वन
पुरुषोत्तम सुवेदी
वाग्मती, माघ १६ गते । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा वन संरक्षणका लागि विभिन्न कार्यक्रममार्फत उत्कृष्ट प्रगति हासिल भएको पाइएको छ । जिल्लामा रहेका डिभिजन वन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय राप्ती गरी दुईवटा डिभिजन वन कार्यालयमार्फत वन संरक्षणसम्बन्धी विविध क्रियाकलाप हुँदै आएको हो ।
जैविक विविधताका साथै संस्कृति, शिक्षा, कला र सभ्यताले समृद्ध मानिएको मकवानपुर एक भित्रीमधेश र मध्यपहाडी जिल्ला हो । वन अनुसन्धान तथा सर्वेक्षण विभागबाट प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार यस जिल्लाको कुल क्षेत्रफल दुई लाख ४५ हजार ५२ हेक्टरमध्ये वनको क्षेत्रफल एक लाख ६६ हजार १४५ (६७.७८५) रहेको छ ।
साबिक अवस्थामा यस जिल्लाअन्तर्गत जिल्ला वन कार्यालय, मकवानपुरबाट वनको व्यवस्थापन एवं प्रशासनिक कार्यसमेत सम्पादन हुँदै आएकामा पछिल्लो वनको नयाँ सङ्गठनात्मक संरचना २०७५ अनुसार डिभिजन वन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय राप्तीमा विभाजनसँगै दुवै डिभिजन कार्यालयले वन संरक्षणका लागि विभिन्न गतिविधि गर्दै आएका छन् ।
साबिकको जिल्ला वन कार्यालयबाट आव २०४७-४८ देखि आव २०७५÷७६ सम्म यस कार्यालयको कार्यक्षेत्रअन्तर्गत १९० वटा सामुदायिक वन दर्ता भई ३३ हजार ६१ दशमलव ५१ हेक्टर वन क्षेत्र सामुदायिक वनका रुपमा हस्तान्तरत भइसकेका छन् । त्यस्तै कबुलियती वनतर्फको तथ्याङ्कलाई हेर्दा २६२ वटा कबुलियती वन समूह दर्ता भई एक हजार २५१ दशमलव २० हेक्टर वन क्षेत्र कबुलियती वनका रुपमा व्यवस्थापन भइरहेको छ ।
हाल दुवै कार्यालयबाट सञ्चालित सामुदायिक वन तथा कबुलियती वन विकास कार्यक्रम, जडीबुटी विकास कार्यक्रम, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम, वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजना, वृक्ष सुधार, वृक्षरोपण तथा निजी वन कार्यक्रमतर्फ उत्कृष्ट प्रगति हासिल भएको कार्यालयहरुको दाबी छ ।
वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा अवस्थित डिभिजन वन कार्यालय, राप्ती र डिभिजन वन कार्यालय, मकवानपुरले वनक्षेत्र संरक्षणलाई थप व्यवस्थापन गर्न विविध कार्य गर्दै आइरहेको जनाएका छन् । दुवै कार्यालयहरुका अनुसार वन संरक्षणका लागि पालोपालो निर्धारण गरी गस्ती परिचालन, नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँग वन संरक्षणका लागि निकायगत समन्वय कार्य, यसैगरी वन अतिक्रमण हुन नदिन सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा वन कर्मचारी परिचालन हुँदै आएको हो ।
डिभिजन वन कार्यालय राप्ती कार्यालयले वन संरक्षणसँगै वन्यजन्तु उद्धार (नीलगाई, जरायो र अजिङ्गर) साथै मानव वन्यजन्तु द्वन्द्वमा राहत वितरणलगायत काम गर्दै आएको कार्यालय प्रमुख एवं डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो । हाल डिभिजन वन कार्यालय राप्तीको कुल क्षेत्रफल ९९ हजार ७०० हेक्टर रहेको छ भने वनको कुल क्षेत्रफल ७० हजार ३०० हेक्टर छ ।
वनको व्यवस्थापकीय हिसाबले यस जिल्लाअन्तर्गत रहेका करिब ६०५ राष्ट्रिय वनको क्षेत्र सामुदायिक वन, कबुलियती वन र धार्मिक वनका रुपमा हस्तान्तरण भइसकेका छन् ।
कार्यालयका अनुसार यस कार्यालयअन्तर्गत बसामाडी जनहित सामुदायिक वन, कालिका हरियाली सामुदायिक वन, पूर्वपश्चिम राजमार्गको दायाँबायाँ हेटाैंडा उपमहानगरपालिका–११ र १९ नवलपुर, भैँसे त्रिखण्डी, फाखेल, दामन, सिमभञ्ज्याङ्, राक्सीराङ् कैलाशलगायत क्षेत्र मुख्य स्थानमा वनक्षेत्र अतिक्रमण भएको देखिन्छ । यसमध्ये एक हजार १८६ दशमलव २५ हेक्टर क्षेत्रफल विभिन्न घरटहरा तथा होटेल झोपडी बनाई वनक्षेत्र अतिक्रमण गरी बनाइएको संरचनामध्ये पछिल्लो पटक ६ दशमलव ९१ हेक्टर क्षेत्र खाली गरी संरक्षण गरिएको कार्यालय प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार यस कार्यालयअन्तर्गत कार्यक्षेत्र पर्ने फाखेल, चन्द्रागिरि नाका, धादिङ कैलाश नाका, आग्रा, लोथर, नवलपुर, भैंसेलगायत स्थानमा वन पैदावार चोरी हुने सम्भाव्य स्थानका रुपमा छन् । यसैगरी कार्यालयले सम्भावित वृक्षरोपण क्षेत्रमा राप्ती बगर, भैंसे सामरी नदी उकास, इन्द्रसरोवर किनार, दामन, राक्सिराङका खोलानाला सरिखेत क्षेत्र (करिब १०० हेक्टर) रहेको जनाएको छ ।
कार्यालयले वनक्षेत्रको संरक्षणका लागि वन डढेलो, नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी, वन्यजन्तुको आवतजावत र द्वन्द्व, वनक्षेत्रको खुल्ला चरिचरन, वन अतिक्रमण गरी बनाइएको संरचना हटाउन समस्या, वन क्षेत्रभित्र निमार्णाधीन सडक, नहर, बाटोलगायत भौतिक संरचना बनाउने प्रवृत्ति हाबी र उपभोक्तालाई वन पैदवारको उपलब्धताको बाबजुद चोरी तस्करीको समस्यालगायत कारणले वन संरक्षणमा चुनौती देखापरेको कार्यालयको दाबी छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६-७७ र चालू आव २०७७-७८ कार्यालयमा दर्ता भएका मुद्दा विवरण विविध प्रकारका १४ वटा किसिमका मुद्दा चलिरहेको देखिन्छ । यसअन्तर्गत वन्यजन्तुतर्फ १०, जडीबुटीजन्यतर्फ तीन र नदीजन्य एक मुद्दा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयमा दरबन्दीअनुसार कर्मचारी स्रोतसाधनको अभाव हुदै पनि कार्यालयले आफ्नो कामलाई प्राथमिकताका साथ अघि बढाएको डिभिजन वन अधिकृत कोइरालाले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय, राप्तीमा ११० जना कर्मचारी दरबन्दी रहेको यस डिभिजन कार्यालयमा हाल ७३ जना कर्मचारी कार्यरत छन् भने ३७ जना रिक्त छन् ।