सवारी दुर्घटनामा ग्लोबल आइएमइ बैंकका शाखा प्रमुख आचार्यको मृत्यु
झापा, फागुन ८ गते । पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।
शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । घाइते आचार्यको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् ।