बेवारिसे शव पहिचानमा समस्या
यलु जोशी
काठमाडौँ, फागुन ११ गते । बेवारिसे शवको पर्याप्त विवरण र हुलिया सार्वजनिक नगरी अन्त्येष्टि गर्दा ती व्यक्तिको कहिल्यै पहिचान नहुने भएको छ ।
मृत अवस्थामा भेटिने ती व्यक्तिको साथमा मोबाइल, परिचयपत्र वा पहिचान खुल्ने अन्य वस्तु नहुँदा तत्काल आफन्तलाई जानकारी दिन सकिँदैन । डा. सुगम केसीले निश्चित समयपछि प्रहरी, प्रशासनले त्यस्ता शवको अन्त्येष्टि गर्ने तर पहिचान खुल्ने गरी फोटो, हुलिया वा अन्य जानकारीको अभिलेख नराखिने र भए पनि सार्वजनिक नगरिँदा परिवारजनले आफन्तको मृत्यु भएको जानकारी नपाउने गरेको बताउनुभयो ।
“कुनै पनि शव बेवारिसे हुँदैन । त्यसको पहिचान गर्न सक्नुपर्छ”, बेवारिसे अवस्थामा भेटिएका ८७ प्रतिशत शवको पहिचान खुल्नसक्ने डा. केसीको
दाबी छ ।
उहाँसहितको समूहले बेवारिसे शवको फोटो, विवरण र पहिचान खुल्ने जानकारी राख्नुपर्ने र त्यसलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको छ । डा. केसी, सुनिल महर्जन र लोहित श्रेष्ठसहितका अभियन्ता विगत ४४ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेर सरकार र सरोकारवाला निकाय र व्यक्तिको ध्यानाकर्षण गर्ने प्रयास
गरिरहनुभएको छ ।
बेवारिसे भए पनि अनुहार चिनिने फोटो, हुलिया, उचाइ, कपडा सबै उल्लेख गरी अभिलेख तयार गर्न र त्यसलाई वेबसाइटलगायतबाट सार्वजनिक गर्नुपर्ने माग उहाँहरूको छ । उहाँले यसो भए ढिलै भए पनि आफन्तले मृत्युको जानकारी पाउने बताउनुभयो ।
प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७३÷७४ सम्म ८३२ बेवारिसे शव फेला परेकामा त्यसपछि आव २०७४÷७५ मा २५४, २०७५÷७६ मा २५२, आव २०७६÷७७ मा २९९ र २०७७ साउनदेखि मङ्सिरसम्म ११५ गरी कुल एक हजार ६८८ बेवारिसे शव फेला परेका छन् । फेला परेका बेवारिसे शवमध्ये आव २०७४÷७५ मा नौ, २०७५÷७६ मा १४, २०७६÷७७ मा २४ र २०७७ साउनदेखि मङ्सिरसम्ममा १७ को पहिचान खुलेको छ ।
अहिले विभिन्न ऐन र कार्यविधिका आधारमा फेला परेका बेवारिसे शव काठमाडौँ उपत्यकामा ३५ दिन र उपत्यकाबाहिर दुई दिनमा अन्त्येष्टि गरिन्छ । उहाँले अहिले ११४ बेवारिसे शव रहेको जानकारी दिनुभयो ।
डा. केसीले वि.सं. २०७२ को भूकम्पपछि ठूलो सङ्ख्यामा बेवारिसे शव फेला परेका र अस्पतालका शवगृहमा लथालिङ्ग फ्याँकिएका शव बेवारिसे भन्दै धमाधम जलाएको देखेपछि आफूहरू यो अभियानमा लागेको बताउनुभयो ।
“आफ्नो परिवारको सदस्य हराएका छन् भने त्यो पीडा बाँचुन्जेल हुन्छ । हराएका व्यक्ति आज फर्किन्छन् कि भोलि भन्दै आफन्तहरू सधैँ पर्खाइमा बसिरहन्छन् । मृत्यु भएको थाहा भएपछि पर्खाइ हँुदैन”, डा. केसीले भन्नुभयो ।
उहाँले शवको औँठा छापलाई राज्यसँग भएको मतदाता, राहदानी वा नागरिकता आदि प्रमाणपत्रको अभिलेखसँग रुजु गरी पहिचान खुलाइनुपर्ने जानकारी दिनुभयो । उहाँले प्रस्ट मुखाकृति देखिने फोटो र सङ्क्षिप्त विवरण राष्ट्रिय र स्थानीय सञ्चार माध्यममार्फत सार्वजनिक गर्न अनुरोध गर्नुभयो । उहाँले सरकारले बेवारिसे र हराएका मानिसका लागि विदेशमा जस्तै छुट्टै वेबसाइट खोली सार्वजनिक गर्ने र बेपत्ताका परिवारले बेवारिसे शव पनि हेर्न मिल्ने गरी प्रचारप्रसार गरिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले गत माघ ६ गते बेवारिसे शवको तथ्याङ्क र अभिलेख अद्यावधिक गर्न एवं शवको पहिचान गरी आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । अहिले गृह मन्त्रालयले तीन सदस्यीय समिति बनाएर बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका तयार
गरिरहेको छ ।